रास्वपाको बारा जिल्ला अधिवेशन स्थगित

विवाद चर्किँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन स्थगित गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै मंगलबारका लागि तय भएको अधिवेशन स्थगित गरेको हो।

केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले विविध अपरिहार्य कारण देखाउँदै अधिवेशन स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरेका छन्। उनले अधिवेशनका सम्पूर्ण प्रक्रियाहरू स्थगित भएको र अर्को निर्देशनको प्रतीक्षा गर्न आग्रह गरेका छन्। जेठ २६ गते निजगढस्थित शुभकार्य बैंकेटमा बिहान ९ बजेका लागि अधिवेशन बोलाइएको थियो। अधिवेशनको मिति नजिकिदै गर्दा जिल्लास्थित नेताकार्यकर्ता नेतृत्व चयनको रस्साकस्सीमा थिए। तर अचानक अधिवेशन स्थगित भएपछि जिल्लास्थित नेताकार्यकर्ता समेत आश्चर्यमा परेका छन्।

frontline

रास्वपा बारा यतिबेला विवादको भूमरीमा छ। जिल्ला समितिका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई निलम्बन र सदस्यता समेत खारेज गरिएपछि जेठ ९ गतेको विस्तारित बैठक तनावपूर्ण बनेको थियो। उक्त बैठकमा स्वर्णकार पक्षधरका नेताकार्यकर्ताले विरोध जनाएपछि बैठकमा सहभागी जिल्लास्थित चार सांसद, रास्वपाका केन्द्रीय प्रतिनिधिलाई कार्यक्रमस्थलबाट बाहिर निस्कन हम्मेहम्मे परेको थियो। सुरक्षाकर्मीले उनीहरुलाई बाहिर निकालेका थिए।

अनुशासनको कारण देखाउँदै साधारण सदस्यबाट समेत हटाएपछि बारामा रास्वपाको जग बसालेका स्वर्णकारले आफूमाथि अन्याय भएको बताउँदै आएका छन्। उनले उक्त अन्यायविरुद्ध लड्ने बताइरहेका छन्। स्वर्णकार पक्षधरको विरोधका बीच जिल्ला अधिवेशन सहज देखिंदैन।

रास्वपाको पालिका अधिवेशन समेत विवादबाट अछुतो रहन सकेन। पालिका अधिवेशनको विवादलाई लिएर कलैयाबाट रास्वपाका कार्यकर्ता केन्द्रीय कार्यालय समेत पुगेका छन्। उनीहरुले केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका थिए।  

जिल्लाको १६ स्थानीय तहमध्ये पाँच स्थानीय तहका निर्वाचन समिति संयोजकलाई केन्द्रीय निर्वाचन प्रमुख केसीले जेठ २० गते स्पष्टीकरण माग गरेका थिए। पालिका अधिवेशनको विषयमा उजुरी परेको भन्दै केसीले महागढीमाई नगरपालिका, निजगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकाका निर्वाचन समिति संयोजकलाई पत्र लेख्दै २४ घण्टाभित्र लिखित स्पष्टीकरण र प्रमाण पेश गर्न निर्देशन दिएका थिए।

परवानीपुर, फेटा र बिश्रामपुर गाउँपालिकाको अधिवेशनका प्रक्रिया समेत विवाद तानियो। विवादकाबीच बारा जिल्ला संगठन निर्माण विशेष समितिको संयोजक सांसद कामिनी चौधरीको नामबाट जेठ २६ गतेको अधिवेशन भव्य रुपमा सफल बनाउन अनुरोध गरिएको पत्र सामाजिक सञ्जालमा बाहिरिएको पत्रले अधिवेशन हुने देखिएको थियो।

उक्त पत्रलाई रास्वपाका जिल्लास्थित नेताकार्यकर्ताले समेत सामाजिक सञ्जालमा शेयर गरेका थिए। अधिवेशन नजिकिन थालेपछि जिल्ला समितिमा आउन इच्छुक उम्मेदवारले सामाजिक सञ्जालमा प्रचार समेत सुरु गरिसकेका थिए। तर केन्द्रको स्थगनसँगै जिल्ला अधिवेशन अनिश्चित बनेको छ। पालिका अधिवेशनको विवाद नटुंगिएका कारण जिल्ला अधिवेशन स्थगित गरिएको हुनसक्ने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here