विराटनगरको गोल्डेन अस्पतालले शव बन्धक बनायो
एम्बुलेन्स चालक र अस्पताल सञ्चालकको मिलेमतोमा यसरी ठगिँदै छन् बिरामी
विराटनगरको गोल्डेन अस्पतालले एम्बुलेन्स चालकसँगको मिलेमतोमा बिरामीलाई ठग्ने गरेको तथ्य बाहिरिएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का ५८ वर्षीय ढोमा चौधरीको उपचारका क्रममा मृत्यु भएपछि यो तथ्य बाहिरिएको हो।
मुटुरोग पीडित चौधरीको विराटनगरस्थित गोल्डेन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान करिब १० बजे चौधरीको मृत्यु भएको उनकी श्रीमती दिलकुमारी चौधरीले जानकारी दिइन्।
सुरुमा बिरामीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ आईसियू बेड खाली नभएपछि बीपीका चिकित्सकले विराटनगरको सरकारी अस्पताल (कोसी अस्पताल) रेफर गरेका थिए।
कोसी अस्पताल वा विराट मेडिकल कलेज ल्याउने भनेर बीपीबाट डिस्चार्ज भएका चाैधरीलाई एम्बुलेन्सले गोल्डेन अस्पताल पुर्याएको मृतक चौधरीका छिमेकी सुजन पोखरेलले जानकारी दिए।
उनका अनुसार, एम्बुलेन्स चालकले कमिसनको प्रलोभनमा बिरामीलाई सिधै गोल्डेन अस्पताल पुर्याएका हुन्। जसको जानकारी बिरामीका आफन्तलाई गराइएको थिएन।
उपचारको क्रममा लागेको भनिएको केही रकम बिरामीका आफन्तले तिर्न नसक्दा अस्पतालले शव नदिएको मृतकका आफन्तले बताएका छन्।
आर्थिक अवस्था असाध्यै कमजोर रहेका चौधरीको उपचारका लागि स्थानीयले चन्दासमेत सङ्कलन समेत गरेका थिए।
‘अहिलेसम्म दुई लाख रुपैयाँ खर्च भइसकेको छ। सरकारी अस्पताल वा विराट मेडिकल कलेजमा उपचारको लागि पुर्याउन पाएको भए बिरामीका परिवारलाई एक लाखसम्म सहुलियत हुने थियो,’ पोखरेलले नेपालखबरसँग भने, ‘ एम्बुलेन्स चालक र अस्पतालबिचको कमिसनका कारण गोल्डेन अस्पताल लैजाँदा समस्या भयो। एक लाख रुपैयाँ तिर्न बाँकी हुँदा अस्पतालले शव नै बन्धक बनाएको छ। बिरामीका आफन्तले संस्कार गर्नसमेत पाएका छैनन्।’
गोल्डेन अस्पतालले स्वास्थ्य उपचारलाई सेवाभन्दा पनि कालो व्यापारको रूपमा प्रयोग गर्दा नागरिक सुलभ उपचारबाट वञ्चित हुँदै आएको गुनासो स्थानीयले गरेका छन्।
गोल्डेन अस्पतालका प्रशासन प्रमुख मोहम्मद जियाउल हकले भने बिरामी निकै गम्भीर अवस्थामा आइपुगेकाले भेन्टिलेटरमा राखेर उपचार गर्दा उपचार खर्च बढी भएको दाबी गरे।
‘हामीले छुट पनि दिएका छाैँ। अब लाग्ने न्यूनतम शुल्क ९० हजार रुपैयाँ मात्र बिरामीका आफन्तले अस्पतालमा बुझाउन बाँकी छ। अस्पताल सञ्चालनका क्रममा औषधि र उपकरणमा खर्च हुने भएकाले न्यूनतम शुल्क मागिएको हो,’ उनले भने।
शनिबार नै अस्पतालबाट शव लग्ने प्रयास भए पनि अस्पतालले पैसा नतिरी अस्पतालबाट शव निकाल्न नदिएको आफन्तले बताएका छन्। आज आइतबार मात्रै शवलाई अन्त्येष्टिका लागि लैजाने तयारीमा पीडित परिवार जुटेको छ।
चौधरीको शवलाई अस्पतालबाट निकाल्न स्थानीयले आज बिहान आर्थिक सहयोग सङ्कलन गरेर केही रकम पठाएका पोखरेलले जानकारी दिए।
अस्पतालमा बिरामीलाई बन्धक बनाइएको बारेमा पीडित परिवार र स्थानीयवासी जिल्ला प्रहरी कार्यालयसमेत पुगेका छन्। मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले अस्पताल व्यवस्थापनसँग समन्वय गरी छुटसहित शव लैजाने वातावरण बनाइएको बताए।
उनले विराटनगरका अस्पतालहरूमा सर्वसाधारण बिरामी ठगिने क्रम बढेको गुनासो आएपछि ठगीमा संलग्न रहेको एम्बुलेन्स तथा बिचौलियाहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए।
`अस्पतालहरूबाट बिरामीहरू ठगिएको भन्ने प्रशस्त गुनासा आउन थालेका छन्,´ एसपी कटवालले भने, `सर्वसाधारण नागरिकलाई ठग्ने दुःख दिने र बिचौलिया गिरी गर्नेलाई प्रहरीले कानुनी कारबाहीमा ल्याउँछ। केहीलाई हामीले पक्राउ गरेका छाैँ।´






प्रतिक्रिया दिनुहोस्