बागमतीको ‘वाटर वे’ बिर्सिएर ‘बोटल नेक’मा अड्कियो सरकार

खोलाजति मान्छेले मिचे, दोषजति मञ्जुश्री गल्छीलाई !

काठमाडौँ । उपत्यकाका नदीहरूको वाटर वे पर्याप्त नहुँदा पछिल्ला वर्षहरूमा नदी–किनारा डुबानमा परिरहेका छन् । गत वर्ष असोज १२ गते आएको बाढीले उपत्यकामा धनजनको क्षति गर्‍यो । उपत्यकाका नदी करिडोरका सयौँ बस्तीहरू डुबानमा परे ।

frontline

नदीको बहावको फैलावट बढ्दा बस्तीहरू डुबानमा परिरहेका छन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका निर्देशक उद्धव नेपालका अनुसार नदीछेउमा बस्ती तथा सहरी पूर्वाधारहरू बन्दा ‘वाटर वे’ घटिरहेको छ । 

उनका अनुसार उपत्यका डुबानमा परिरहनुको कारण पनि नदीछेउमा अव्यवस्थित संरचनाहरू बन्नु नै हो । ‘नदी बस्तीमा आएको हो कि, बस्ती नदीमा गएर डुबान भयो भन्ने बुझ्न जरुरी छ । जहाँसम्म खोलाको अधिकार रहेको स्थान छ, त्यो स्थान सरकारले खाली गरिदिनुपर्छ,’ नेपाल माग गर्छन् । 

यस्तै वरिष्ठ भूगोलविद् शिव बास्कोटा अव्यवस्थित सहरीकरणका कारण खोलामा पानीको प्रवाह बढेको बताउँछन् । ‘पहिले पनि भूगोल त यही नै हो, तर पहिले बूढानीलकण्ठमा परेको पानी बागमतीमा मिसिँदा घण्टौँ लाग्थ्यो, त्यो पनि थोरै मात्रामा मिसिन्थ्यो । त्यो वेलामा खेत हुन्थ्यो, खाली जमिन हुन्थ्यो । जमिनले पानी सोस्थ्यो तर अहिले पानी पर्ने बित्तिकै खोलामा पुग्छ, जमिनसँग पानीको सम्पर्क नै हुँदैन, त्यसले खोलामा पानीको मात्रा बढ्ने नै भयो,’ उनी भन्छन् ।

सहरमा रिचार्ज पोखरीको काम पहिले खेतले गर्ने भए पनि अहिले खेत नै नभएको उनी बताउँछन् । ‘पहिले वर्षामा खेतमा धान रोपाइँ हुन्थ्यो, पानी पर्‍यो भने प्रत्येक गह्रामा पानी जम्थ्यो, अहिले खेत छैन । सडकहरू कङ्क्रिट छन्, पानी रोकिने ठाउँ छैन । त्यसकारण डुबान बढेको छ,’ उनी भन्छन् । सहरी विकास विज्ञहरू पानी परेपछि खोलासम्म पुग्ने समय (रन–अफ टु रिभर) छोटो हुँदा पानी पर्ने बित्तिकै नदीहरू भरिने तर्क गर्दै आएका छन् ।

काठमाडौँमा खाली जमिनको अभावले ‘रन–अफ टु रिभर’ कम हुँदा उपत्यकाका नदीहरूको ‘वाटर वे’ समेत पर्याप्त छैन । नदीहरूको बग्ने बाटो पर्याप्त नहुँदा छिट्टै खोला भरिने र त्यसको असर तत्काल नदी करिडोरमा डुबानका रूपमा देखिने अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिका प्रवक्तासमेत रहेका नेपाल बताउँछन् ।

vally
  • घटिरहेछ नदीको बाटो

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता नेपालका अनुसार अहिले बागमती नदीको बाटो निकै कम छ । ‘हामीले हाइड्रोलोजिकल इन्जिनियरिङ अध्ययन गरेका थियौँ, त्योअनुसार वाटर वे पनि तोकिएको थियो । तर अहिलेसम्म नदीले पूर्ण बाटो पाइसकेको छैन,’ उनले भने । 

समितिका अनुसार बागमती नदीको वाटर वे सुन्दरीजल–गोकर्ण ब्यारेजसम्म २० मिटर रहेको छ । २०६९ जेठमा बागमती नदी र यसका सहायक नदीहरूको खण्डमा वाटर वेको क्षेत्रफल तोकिएको थियो । तर तोकिएको वाटर वेसमेत नदीले पाएको छैन । त्यो वेला सरकारले वाटर वे बागमती नदीको बहावलाई नै आधार मानेर तोकेको थियो ।

सरकारले तिलगंगा–शंखमुल खण्डमा कम्तीमा ३० मिटर, त्यसपछि विष्णुमती नदी दोभानसम्म कम्तीमा ६० मिटर वाटर वे तोकेको थियो । विष्णुमती दोभानदेखि तल्लो तटीय क्षेत्रमा कम्तीमा ८० मिटर वाटर वे सरकारले तोकेको थियो ।

upatyakako nadi pranali

तर बागमती सभ्यताले गरेको हाइड्रोलोजिकल इन्जिनियरिङ अध्ययनअनुसार बागमती नदी र यसका सहायक नदीको वाटर वे अहिले अझ बढी आवश्यक छ । समितिले २०८० मा २० वर्षे कार्ययोजनाअन्तर्गत अध्ययन गरेको थियो । उक्त अध्ययनको रिपोर्टअनुसार बागद्वारदेखि नागमती खोला सङ्गमसम्म २० मिटर वाटर वे आवश्यक हुन्छ । नागमतीदेखि सूर्यमती खोलासम्म ३४ मिटर, सूर्यमतीदेखि मनोहरा खोलासम्म ४३ मिटर, मनोहरादेखि धोबीखोला सङ्गमसम्म ९५ मिटर, धोबीखोलादेखि टुकुचासम्म ९८ मिटर, टुकुचादेखि विष्णुमतीसम्म ९९ मिटर, विष्णुमती सङ्गमदेखि बल्खु खोला सङ्गमसम्म १११ मिटर वाटर वे आवश्यक पर्छ ।

प्रतिवेदनअनुसार बल्खु खोला सङ्गमदेखि नख्खु खोला सङ्गमसम्म ११२ मिटर, नख्खु खोला सङ्गमदेखि कटुवाल दहसम्म ११९ मिटर आवश्यक छ । यसले के देखाउँछ भने २०६९ मा सरकारले तोकेको विष्णुमती दोभानदेखि तल्लो तटीय क्षेत्रमा कम्तीमा ८० मिटर वाटर वे तोकिएको थियो । 

तर अब विष्णुमती सङ्गमदेखि बल्खु खोला सङ्गमसम्म मात्रै १११ मिटर वाटर वे आवश्यक भइसकेको छ । तर यसमा सरकारले चासो दिएको देखिँदैन, बरु चोभारको गल्छी खोल्ने योजना अगाडि सारेको छ ।

  • ‘अकर्मण्यता’को दोष चोभार गल्छीलाई

कङ्क्रिटले भरिएको उपत्यकामा पानी पर्ने बित्तिकै खोलामा बहाव बढ्दा हुने डुबानको कारणलाई सरकार निरन्तर बेवास्ता गर्दै आएको छ । बरु उपत्यकामा डुबान बढ्नुमा चोभारको गल्छी अर्थात् काठमाडौँ उपत्यकाको पानीको एक मात्र निकासी हुने ठाउँ ‘बोटल नेक’को रूपमा रहनुलाई कारण देखाइरहेको छ । 

सोही आधारमा १४ जेठमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले निर्णय गर्‍यो– ‘काठमाडौँ उपत्यकामा मनसुनजन्य विपद्, विशेष गरी डुबानको जोखिम न्यूनीकरणका लागि सरकारले चोभारको गल्छी विस्तार गर्ने । 

यसको अर्थ सरकारले अब चोभारलाई विस्तार गरेर काठमाडौँलाई डुबानबाट बचाउने भन्ने देखिन्छ ।

banne
  • सरकार भन्छ, ‘गल्छी खोल्दा पानी राम्ररी बग्छ’

गृहमन्त्री रमेश लेखकले संसद्को प्राकृतिक स्रोत समितिको बैठकमा उपत्यकाको पानी बाहिरिने मुख्य निकासका रूपमा रहेको यो गल्छी साँघुरो हुँदा पानीको प्रवाहमा अवरोध भई बाढी र डुबानको समस्या बढेको समितिको निष्कर्ष सुनाए । ‘चोभारको गल्छीमा पानी राम्रोसँग प्रवाह हुन नसक्दा उपत्यकामा डुबानको खतरा बढेको छ । त्यसैले हामीले त्यसलाई खोल्ने निर्णय गरिसकेका छौँ,’ उनले भने, ‘यो निर्णयले उपत्यकाको डुबान समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।’ 

गत वर्ष बल्खुवरपरका क्षेत्रमा भएको बाढीको समस्या यही गल्छीका कारण भएको प्राधिकरणको निष्कर्ष छ । चोभारको गल्छी विस्तार भएपछि पानीको निकास सहज हुने र नदी किनारका क्षेत्रमा हुने डुबानको समस्या कम हुने विश्वास सरकारको छ ।

  • कस्तो हो चोभारको भूगोल ?

वरिष्ठ भूगर्भविद् शिवप्रसाद बास्कोटाका अनुसार चोभारका पहाड करोडौँ वर्ष पुराना हुन् । ‘चोभारको पहाडको कुरा गर्दा हिमालय शृंखला निर्माणका क्रममा बनेका हुन् । यी पहाडहरू पहिले काठमाडौँ उपत्यकामा विशाल पोखरी निर्माण गर्ने चट्टानहरूबाट बनेका हुन् । 

चोभारको गल्छीबाट पानी जान थालेपछि काठमाडौँमा पानी घटेर अहिलेको अवस्था आएको हो,’ उनी भन्छन्, ‘काठमाडौँ उपत्यकाको जमिनभन्दा हजारौँ वर्ष पुरानो हो यो चट्टान ।’

उनले सरकारले चट्टान काट्ने निर्णय नभई खोलामा रहेका अवरोधहरू हटाउने निर्णय गरेको हुन सक्ने बताए । ‘गल्छीले उपत्यकाको डुबानमा कत्रो भूमिका खेल्छ भन्ने कुराले अर्थ राख्दैन, बरु गल्छीमा पानी भरिन नदिने गरी काम गर्नुपर्छ,’ उनी भन्छन् ।

  • अभियन्ता भन्छन्– सरकार उल्टो बाटोमा

काठमाडौँको सांस्कृतिक सम्पदा र प्रकृतिको संरक्षणमा लागिरहेका अभियन्ता गणपतिलाल श्रेष्ठ सरकार उल्टो बाटोमा हिँडेको बताउँछन् । ‘सहरमा खाली ठाउँ देख्नै नहुने, पूर्वाधार बनाइहाल्ने, खोला–किनारा कहीँ खाली छैन । खेत छैन, बारी छैन । अनि डुबान भयो भनेर गल्छी खोल्छु भनी सरकार लागेको छ । यसको हामी घोर विरोध गर्दछौँ,’ अकुपाई टुँडिखेलका अभियन्तासमेत रहेका उनी भन्छन् । 

श्रेष्ठले प्राकृतिक रूपमा मात्र नभई सांस्कृतिक रूपमा पनि मञ्जुश्री गल्छीको महत्त्व रहेको बताए । ‘यो हाम्रो यहाँका नागरिकको आस्थासँग जोडिएको विषय हो । अब यो गल्छीलाई कृत्रिम रूपमा चलाउनै हुँदैन, बरु संरक्षण गर्नुपर्छ,’ उनी सुझाउँछन् । 

kirtipur sunuwai

काठमाडौँमा हजारौँ वर्षदेखि चोभारको गल्छीमा कुनै समस्या नभए पनि अहिले गल्छीलाई डुबानको कारण देखाउनु सरकारको अकर्मण्यता भएको उनको तर्क छ । ‘बस्ती बसाउने वेला कुनै योजना छैन, कुनै नियम छैन । खोला, नदी सबै कब्जा गरेको छ । अनि डुबान नभएर के हुन्छ ? त्यसको दोष गल्छीलाई दिन मिल्छ ?’ उनले प्रश्न गरे ।

उनले काठमाडौँमा डुबान किन बढिरहेको छ भनेर सरकारले ध्यान दिनुको सट्टा ‘डुबान आयो, अब डाँडा काटेर पानी फालौँ’ भन्नेजस्तो तर्क गरेको सुनाए । 

सम्पदा संरक्षण महाअभियानका अभियन्ता सुनिल प्रजापतिसहित अभियन्ताहरूले मञ्जुश्री पार्कमा रहेको झोलुङ्गे पुलमा कालो ब्यानरसमेत झुन्ड्याएका छन् । उनीहरूले कुनै पनि हालतमा मञ्जुश्री गल्छीको प्राकृतिक संरचना बिगार्न नपाइने बताउँदै आएका छन् । उनीहरूले राखेको ब्यानरमा लेखिएको छ– ऐतिहासिक तथा धार्मिक महत्त्व भएको नेपाल मण्डल सभ्यताको अस्तित्व बोकेको न्हुछिकाप मञ्जुश्री गल्छी कुनै बहानामा एक मुट्ठी बालुवा पनि छुन पाउँदैनन्, होसियार !

chovar galxi
  • आलोचनापछि विपद् प्राधिकरणको स्पष्टीकरण

प्राधिकरणको निर्णयपछि गृहमन्त्री रमेश लेखकले दिएको अभिव्यक्तिले सरकारको आलोचना भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्पष्टीकरण दिएको छ । ११ असारमा एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले चोभार गल्छीसम्बन्धी विषयमा जनमानसमा अन्यथा पर्न गएको जनाएको छ ।

‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकताअनुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने,’ आफ्नो निर्णयको व्याख्या गर्दै प्राधिकरणले भनेको छ ।

download

#चोभार बाढी #चोभार

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here