ब्यालेस्टिक मिसाइल आक्रमणपछि इजरायली राजनीतिज्ञद्वारा नेतान्याहुको आलोचना
इरानले इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि केही इजरायली राजनीतिज्ञहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा आलोचना गरेका छन्। उनीहरूले इरानविरुद्ध सैन्य बल प्रयोग गरेर कडा जवाफ दिन माग समेत गरेका छन्।
आगामी निर्वाचनमा नेतान्याहुलाई चुनौती दिइरहेका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले यस घडीलाई ‘सत्यको क्षण’ को रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा एक वक्तव्य जारी गर्दै बेनेटले इजरायलले आफू ‘आफ्नो रक्षा गर्न सक्षम एक सार्वभौम राष्ट्र’ भएको प्रमाणित गरेर देखाउनुपर्ने उल्लेख गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई ब्यालेस्टिक मिसाइल आक्रमणको बदला लिन अनुमति नदिने भन्ने खालका रिपोर्टहरू सार्वजनिक भइरहेका बेला बेनेटको यस्तो भनाइ आएको हो। उनले भनेका छन्, ‘इजरायलले दृढता र प्रभावकारी रूपमा कदम चाल्नै पर्छ।’
त्यस्तै, उग्र-दक्षिणपन्थी विचारधाराका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले ‘एक्स’ मा छोटो प्रतिक्रिया दिँदै भनेका छन्, ‘आज राति तेहरान जल्दै गरेको हुनुपर्छ।’इरानी मिसाइल आउँदै गरेको पहिलो चेतावनी जारी भएलगत्तै प्रतिक्रिया दिने सरकारी मन्त्रीहरूमध्ये बेन गभिर अग्रपंक्तिमा छन्।
अर्कोतर्फ, वामपन्थी ‘डेमोक्र्याट्स’ पार्टीका प्रमुख याइर गोलनले इजरायलका शत्रुहरूले ‘नेतान्याहु एक कमजोर र असफल नेता हुन्’ भन्ने कुरा बुझिसकेको टिप्पणी गरेका छन्। गोलनका अनुसार नेतान्याहु नेतृत्वको वर्तमान सरकारसँग ‘इजरायललाई अर्को युद्धमा धकेल्ने कुनै नैतिक अधिकार छैन।’ उनले आगामी सेप्टेम्बर वा अक्टोबरमा हुने निर्वाचनमार्फत यो सरकारलाई सत्ताबाट हटाउन मतदाताहरूलाई आह्वान समेत गरेका छन्।






प्रतिक्रिया दिनुहोस्