अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका चार भुटानी शरणार्थी निष्कासन प्रक्रियामा, पत्र थमाइयो

समाचार सारांश

  • अध्यागमन विभागले अमेरिकाबाट डिपोर्ट गरिएका चार भुटानी शरणार्थीलाई देश निकाला गर्ने निर्णय गरेको छ।
  • शरणार्थीहरूले गैरकानुनी रूपमा नेपाल प्रवेश गरेको ठहर गर्दै जरिवाना तिराउने र देश निकालाको प्रक्रिया अघि बढाइने भएको छ।
  • अदालतले अनुसन्धान पूरा गर्न आदेश दिएपछि, विभागले जरिवाना तोकी निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ।

काठमाडौँ । अध्यागमन विभागले अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका चार भुटानी शरणार्थीलाई देश निष्कासनको निर्णयसहित प्रक्रिया अघि बढाएको छ । 

frontline

गत असार ६ गते विभागले अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका आशीष सुवेदी, अशोक गुरुङ, सन्तोष दर्जी र रोशन तामाङलाई देश निष्कासन गर्ने निर्णय गरी अध्यागमन कार्यालय काँकरभिट्टामा पत्र पठाएको हो ।

विभागले पत्र पठाएपछि निष्कासनको प्रक्रिया अघि बढाउन कार्यालयले चार जनालाई पत्र थमाएको छ । अमेरिकाले गएको चैतमा १८ जना भुटानी शरणार्थीलाई डिपोर्ट गरेको थियो । तीमध्ये चार भुटानबाट भारतीय बाटो हुँदै नेपाल छिरेका थिए । पछि कानुनी झन्झट नहोस् भनेर बेलडाँगी शिविरमा बसिरहेका आशीषका बुवा नारायणकुमारले आफैँ प्रशासनमा खबर गरेका थिए । त्यसपछि उनीहरूलाई त्यही दिन अध्यागमन कार्यालयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको बन्दी गृहमा राखेको थियो ।

देश निष्कासन गर्ने निर्णयसहित अध्यागमनले चार जनालाई बन्दी गृहमा राखेपछि नारायणकुमारले अदालत गुहारेका थिए । गत वैशाख ११ गते सर्वोच्च अदालतले उनीहरूलाई बन्दी गृहमा नराख्न तथा ६० दिनभित्र अनुसन्धान सम्पन्न गर्न आदेश दिएको थियो । ६० दिनमा अनुसन्धान सकी विभागले ५ हजार जरिवाना तोकी निष्कासनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको हो । 

सन् १९९० को दशकमा भुटानी शरणार्थीका रूपमा नेपाल आएका उनीहरू १० वर्ष पहिले पुनर्वास भएका थिए । अमेरिकाले डिपोर्ट गरी पैतृक देश भुटान छाडेकोमा उनीहरू यसरी पारिवारिक र भाषाको कारण भनेर नेपाल प्रवेश गर्नु गैरकानुनी भएको विभागको भनाइ छ । उनीहरू भुटानी नागरिक भएको तथा भारतबाट स्थलमार्ग हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गरेको ठहर विभागको छ ।

उनीहरू १९ मार्च २०२५ मा नेपाल प्रवेश गरेका थिए । त्यसअनुसार भिसा शुल्क, विलम्ब शुल्कलगायत दस्तुर लिई प्रवेश भिसा जारी गर्नुपर्नेमा चार भुटानी शरणार्थीसँग राहदानी र भिसा जारी गर्न आवश्यक कागजात नरहेकाले तत्काल आफ्नो देशको राहदानी वा भिसा जारी गर्न आवश्यक यात्रासम्बन्धी कागजात पेस गर्न पत्रमा भनिएको छ ।

‘तपाईँ भुटानी नागरिक भएको तथा भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको र प्रवेश हुने क्रममा विदेशी नागरिकले प्रवेश स्थलबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्नुपर्नेमा सो नगरेको अवस्था रहेको देखिन्छ,’ कार्यालयले उनीहरूलाई थमाएको पत्रमा भनिएको छ, ‘अध्यागमन ऐन २०४९ को दफा ३ (१) मा कुनै पनि विदेशीले राहदानी र भिसा नलिई नेपालभित्र प्रवेश गर्न र नेपालमा बस्न पाउने छैन भन्ने व्यवस्था रहेको छ । यसमा तपाईँले उक्त प्रावधान विपरीत कार्य गरेको हुँदा दफा १० (४) बमोजिम जनही पाँच हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’

उनीहरू १९ मार्च २०२५ मा नेपाल प्रवेश गरेका थिए । त्यसअनुसार भिसा शुल्क, विलम्ब शुल्कलगायत दस्तुर लिई प्रवेश भिसा जारी गर्नुपर्नेमा चार भुटानी शरणार्थीसँग राहदानी र भिसा जारी गर्न आवश्यक कागजात नरहेकाले तत्काल आफ्नो देशको राहदानी वा भिसा जारी गर्न आवश्यक यात्रासम्बन्धी कागजात पेस गर्न पत्रमा भनिएको छ ।

ती कागजात प्राप्त भएपश्चात् निष्कासनको प्रक्रिया अघि बढाइने जानकारी पनि कार्यालयले उनीहरूलाई पत्रमार्फत दिएको छ । कार्यालयले उक्त कागजात पेस नगर्दासम्म स्थानहद तोकेको छ । 

प्रहरीको इकाइमा जानकारी गराएर दमकभन्दा बाहिर नजानेगरी उनीहरूलाई गत वैशाख १२ गतेको निर्णयबमोजिमकै स्थानहद तोकिएको पनि कार्यालयले पत्रमार्फत जानकारी गराएको छ ।

अध्यागमनले निष्कासनको प्रक्रिया अघि बढाएपछि अदालतको ढोका ढकढक्याउने तयारी गरेको आशीषका बुवा नारायणकुमारले बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘आशीषसहित अमेरिकाबाट निष्कासित भई आएकाहरूको रेखदेख र खानपानमा खर्च भइरहेको छ । अदालत जाने खर्च पनि छैन । खर्च जुटाएर देश निष्कासनका लागि पत्र पठाउने अध्यागमनविरुद्ध अदालत जाने तयारी गरेको छु ।’ 

1
2

#भुटानी शरणार्थी #देश निकाला

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here