बंगालको खाडीमा चक्रवात विकसित हुने सम्भावना, नेपालमा पनि मौसम प्रभावित हुन सक्ने
ठमाडौँ : बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातीय आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालमा पनि मौसम बदली तथा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) चक्रवातीय आँधीमा परिणत हुने सम्भावना छ।
उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।
यस प्रणालीको सम्भावित प्रभावका कारण कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यद्यपि, नेपालमा कति वर्षा हुन्छ र यसको प्रभाव कति गम्भीर हुन्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ।
सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल, भू–उपग्रहका तस्बिर तथा उपलब्ध तथ्याङ्कको विश्लेषणमार्फत प्रणालीको विकासक्रम र सम्भावित प्रभावबारे निरन्तर निगरानी भइरहेको छ। थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार मौसमसम्बन्धी सूचना अद्यावधिक गरिने जनाइएको छ।
महाशाखाले मौसमको अवस्थाबारे जानकारी लिन तथा सम्भावित जोखिमबाट बच्न विभागबाट जारी हुने आधिकारिक सूचनालाई नियमित रूपमा हेर्नसमेत अनुरोध गरेको छ।






प्रतिक्रिया दिनुहोस्