पेरिस नजिकै अन्धाधुन्ध गोली प्रहार, एकको मृत्यु र पाँच घाइते
काठमाण्डौँ : फ्रान्सको राजधानी पेरिस नजिकै भएको गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनालाई ‘नस्लवादी आतङ्कवादी हमला’ भन्दै निन्दा गरेका छन् ।
शुक्रबार बिहान ट्राप र नजिकैको ला भेरिएर क्षेत्रमा करिब १५ मिनेटसम्म चलेको घटनामा एक व्यक्तिले कारबाट विभिन्न स्थानमा गोली प्रहार गरेका थिए । आक्रमणकारीले आप्रवासी मूलका मानिसहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
घाइतेमध्ये १२ वर्षीया बालिकासहित तीन जनाको अवस्था गम्भीर रहेको छ । बालिकाकी आमाका अनुसार उनकी छोरीलाई आठ गोली लागेको छ र शल्यक्रिया गर्नुपरेको छ । छोरीले हिजाब लगाएका कारण आक्रमणको निशाना बनेको हुन सक्ने आशङ्कासमेत उनले व्यक्त गरेकी छन् ।
घटनास्थल ट्राप पुगेका राष्ट्रपति म्याक्रोंले मानिसहरूलाई उनीहरूको छालाको रङ वा धर्मका आधारमा लक्षित गरिएको बताएका छन् । उनले यस्तो घृणामा आधारित विचारधाराविरुद्ध दृढ रहन नागरिकलाई आग्रह गर्दै घटनालाई फ्रान्सेली गणतन्त्र र राष्ट्रको जीवनमा एउटा निर्णायक मोडका रूपमा व्याख्या गरेका छन् ।
फ्रान्सको राष्ट्रिय आतङ्कवादविरोधी अभियोजन कार्यालय (पीएनएटी) ले घटनालाई आतङ्कवादी गतिविधिसँग सम्बन्धित हत्याका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । आक्रमणको वास्तविक उद्देश्य भने अझै स्पष्ट भएको छैन ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३९ वर्षीय संदिग्धको नाम केभिन टी हो । अभियोजन कार्यालयका अनुसार उनीविरुद्ध यसअघि चारवटा मुद्दामा दोषसिद्धि भएको थियो। उनी प्रहरीको जानकारीमा रहे पनि देशको गुप्तचर निकायको निगरानी सूचीमा भने नरहेको बताइएको छ ।
घटनासँग सम्बन्धित रहेको आशङ्कामा संदिग्धको नजिकको पारिवारिक घेराका एक सदस्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानकर्ताहरूले गोली प्रहारमा प्रयोग गरिएको हतियार र सम्भावित आतङ्कवादी सञ्जालसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार आक्रमणकारीले ट्रापको पेट्रोल पम्प, स्वास्थ्य केन्द्र र बालबालिका खेल्ने स्थाननजिक गोली चलाएका थिए। त्यसपछि उनी ला भेरिएरतर्फ अघि बढेका थिए। प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको हतियार पुरानो प्रकारको अर्धस्वचालित बन्दुक थियो ।
फ्रान्सेली अधिकारीहरूले घटनालाई हत्या, प्रतिबन्धित श्रेणीको हतियार राखेको तथा व्यक्तिविरुद्ध अपराध गर्ने उद्देश्यले आतङ्कवादी समूहसँग षड्यन्त्र गरेको आशङ्कासहित अनुसन्धान गरिरहेका छन् ।






प्रतिक्रिया दिनुहोस्