जो सडकमा ज्यान गुमाउँछन्, तर तथ्याङ्कमा पर्दैनन्
नेपालका सडकहरूलाई प्रायः सङ्कटका रूपमा वर्णन गरिन्छ। तर, तथ्याङ्कले झनै भयानक कथा भन्छ- सडक दुर्घटनाको सङ्कट आधिकारिक रूपमा स्वीकार गरिएभन्दा पनि बढी गम्भीर छ।
प्रायः सबैले उल्लेख गर्ने सरकारी अभिलेखअनुसार ‘नेपालका सडकमा दैनिक करिब सात जनाको मृत्यु हुन्छ।’ तर, विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार यो सङ्ख्या सात होइन, २३ छ। यो तथ्याङ्कीय भिन्नता मात्र होइन। यो संस्थागत असफलताको चित्र हो, हाम्रो तथ्याङ्क सङ्कलन प्रणालीको यस्तो चित्र जसले सडक दुर्घटनाका धेरै मृतकहरूलाई देख्दैन, चिन्दैन, गन्दैन र त्यसैले हाम्रो सडक सुरक्षा प्रणालीले कार्य गर्दैन।
चिनिएका तर बेवास्ता गरिनुका कारणहरू
नेपालमा सडक दुर्घटनाका कारणहरू गुप्त वा रहस्यमय छैनन्। सडक दुर्घटना हुनमा तीव्र गतिले सबैभन्दा ठूलो हिस्सा ओगट्छ, त्यसपछि यान्त्रिक खराबी, खाल्डाखुल्डी र पैदलयात्रीको जोखिमपूर्ण अवस्था। सबै दुर्घटना सङ्ख्याको आधाभन्दा बढी दुर्घटनामा मोटरसाइकलहरू संलग्न छन्, त्यसमा पनि युवा चालकहरूको सङ्ख्या सबैभन्दा बढी छ। १५ देखि १९ वर्ष उमेरका किशोरकिशोरीमा हुने मृत्युको प्रमुख कारण सडक यातायातका क्रममा हुने चोटपटक बनेको छ
चाखलाग्दो कुरा के भने, यी तथ्यहरूले राष्ट्रिय बहसमा कति थोरै परिवर्तन ल्याएका छन्। मेरो अनुसन्धान र वकालतले निरन्तर गहिरो समस्यातर्फ सङ्केत गरेको छ- नेपालले सडक मृत्युलाई प्रणालीगत जनस्वास्थ्य आपत्कालका रूपमा नभई पृथक् घटनाका रूपमा लिन्छ।
प्रत्येक दुर्घटनालाई बेग्लाबेग्लै हेरेर अनुसन्धान गरिन्छ, शोक देखाइन्छ र बिर्सिइन्छ। तर तिनका मुख्य कारकहरू- खराब इन्जिनियरिङ, कमजोर सवारीचालक अनुमतिपत्र वितरण, नीतिगत प्रवर्तनको अभाव अनुसन्धानको दायरामा पर्दैनन्।






प्रतिक्रिया दिनुहोस्