जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै रूपमा श्वेतपत्र सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरेको श्वेतपत्रले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार निर्माण, हवाई सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्पष्ट दिशानिर्देश गरेको छ।
यसैगरी आधुनिक प्रविधिको प्रयोग, खुला तथ्याङ्क प्रणाली, र वैज्ञानिक अनुसन्धानमार्फत नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने प्रतिबद्धता श्वेतपत्रमा गरिएको छ।
६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम
सरकारले विपद् जोखिम न्यूनीकरण तथा बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि बढाएको छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भई हिमनदी पग्लिने, हिमपहिरो जाने र हिमताल विस्फोटको जोखिम बढ्दै गएपछि सरकारले जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको पाँचवर्षीय रणनीतिक योजना र मौसम विज्ञान विभागको श्वेतपत्रमार्फत आधुनिक प्रविधिसहितको नयाँ रणनीति सार्वजनिक गरेको हो।






प्रतिक्रिया दिनुहोस्