ट्रम्पको दाबी भ्रम मात्रै हो-इरान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध रोक्ने ‘शानदार’ शान्ति सम्झौता भइसकेको र यसै साता हस्ताक्षर हुने दाबी गरे पनि तेहरानले त्यसलाई अस्वीकार गरेको छ। इरानले ट्रम्पको यो दाबीलाई केवल ‘अड्कलबाजी’ को संज्ञा दिँदै अमेरिकासँग अझैसम्म कुनै पनि सम्झौता फाइनल नभएको स्पष्ट पारेको हाे।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले आफ्नो देश राष्ट्रिय हित र आफ्ना ‘रेड लाइन्स’ (अन्तर्निहित सर्तहरू) मा कुनै पनि हालतमा पछि नहट्ने र सम्झौताको मस्यौदामा पूर्ण सहमति नभएसम्म औपचारिक घोषणा नगरिने बताएका छन्।
यसअघि ह्वाइट हाउसको ओभल कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै डोनाल्ड ट्रम्पले इरानसँगको आणविक विवाद र युद्ध समाप्त गर्ने सम्झौता अन्तिम चरणमा पुगेको र यसै साता युरोपमा हस्ताक्षर हुन सक्ने बताएका थिए। उनले सम्झौतापछि रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ पनि खुल्ने दाबी गरेका थिए।
तर, इरानले ट्रम्पको यो दाबीको केही घण्टाभित्रै खण्डन गरेको छ। इरानी आधिकारिक समाचार एजेन्सी ‘इर्ना’ का अनुसार विदेश मन्त्रालयका प्रवक्ता बगाइले भने ,’ इस्लामिक रिपब्लिक अफ इरानले अहिलेसम्म कुनै पनि सम्झौतालाई अन्तिम रूप दिएको छैन। जबसम्म हाम्रा उच्च अधिकारीहरूद्वारा सम्झौताको मस्यौदाका बुँदाहरूमा पूर्ण सहमति र स्वीकृति हुँदैन, तबसम्म यसलाई फाइनल मान्न सकिँदैन।’
इरानी प्रवक्ताले इरानले सधैँ कूटनीतिको ढोका खुला राखेको भए पनि देशको सार्वभौमिकता, आणविक कार्यक्रमको शान्तिपूर्ण अधिकार र आर्थिक प्रतिबन्धहरू पूर्ण रूपमा फुकुवा हुनुपर्ने आफ्ना मुख्य मागहरू (रेड लाइन्स) मा कुनै पनि किसिमको सम्झौता वा आत्मसमर्पण नगर्ने स्पष्ट पारेका छन्।
अमेरिकाले दबाब सिर्जना गरेर इरानलाई झुक्याउन खोजेको भन्दै इरानी अधिकारीहरूले कुनै पनि सम्झौता सम्मानजनक र बराबरीको हैसियतमा मात्र स्वीकार्य हुने बताएका छन्। ट्रम्पले चाँडै नै सम्झौताको स्थान र समय तोकिने दाबी गरिरहँदा इरानको यो कडा प्रतिक्रियाले वासिङ्टन र तेहरानबिच अझै पनि गम्भीर मतभेदहरू कायमै रहेको देखाउँछ।






प्रतिक्रिया दिनुहोस्