विश्वकप फुटबल २०२६ को उद्घाटन समारोह आज
विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको २३औं संस्करण नेपाली समयअनुसार शुक्रबार बिहानदेखि सुरु हुँदैछ। विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ।
करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, एसियाका ९, अफ्रिकाका १०, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारेबियन र मध्यअमेरिकाका ६, दक्षिण अमेरिकाका ६ र ओसियानाका एक गरी ४८ देशले विश्वकपको २३औं सस्करण खेल्दै छन्।
विश्वकपको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ। जहाँ विश्व चर्चित सेलेब्रेटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलोपटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोडिने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलोपटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागिएको हो।
बिहीबार राति मोक्सिकोस्थित मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुन लागेकाले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागिएको हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबलप्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलअघि विभिन्न चर्चित तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन्। आयोजक राष्ट्रको प्रतिनिधित्व गर्दै अलेक्जान्द्रो फर्नान्डिजले मेक्सिकोको राष्ट्रिय गान गाउनेछन् भने टाइलाले दक्षिण अफ्रिकाको राष्ट्रगान गाउनेछिन्।
उद्घाटन समारोहमा फिफा विश्वकप २०२६ की विशेषदूत सलमा हायेक पिनाउल्टले समर्थकहरूलाई स्वागत गर्नेछिन्। उनले विश्व फुटबलको यो मञ्चमा फुटबलको एकताको सन्देश प्रवाह गर्नेछिन्। त्यसपछि रयान कास्त्रो र जे बाल्विनले आफ्नो सांगीतिक प्रस्तुति पस्किने छन्। उनीहरूसँगै साकिरा, जो बेलिन्डा, बनाए राय, ड्यानी ओसन, लिला डाउन्स, लस एञ्जल्स, अजुरेस, मानालगायतले मेक्सिको सिटी रंगशालामा धुम मच्चाउने छन्। मेक्सिको सिटीको उद्घाटन समारोहमा फुटबल, संगीत र सांस्कृतिक उत्सवको जोजोल्यमान हुने विश्वास गरिएको छ।






प्रतिक्रिया दिनुहोस्