इरानी समर्थकले रंगशालामा झन्डा लैजान नपाउने

इरानले विश्वकपमा सहभागी हुन ठुलो संघर्ष गरी अमेरिकाको भिसा प्राप्त गर्‍यो । अमेरिकाले इरानलाई विभिन्न प्रोटोकल पालना गर्नुपर्ने जनाउँदै भिसा दिएको हो । अमेरिकामा खेल सकिएको दिनै इरानी टोली मेक्सिकोमै फर्कनुपर्ने नियम छ । यो नियम पालना शतप्रतिशत गर्ने प्रतिबद्धता जनाउँदा इरानले अमेरिकी प्रवेशको भिसा पाएको थियो । इरानले भिसा पाउँदा सबैभन्दा धेरै खुसी हुनेमा उसका समर्थकहरू थिए । 

समर्थकहरूले अनलाइनको माध्यमबाट आफ्नो राष्ट्रले समूह चरणमा खेल्ने सबै टिकट किनिसकेका थिए । यसैको माध्यमबाट उनीहरू अमेरिका पुगेका छन् । तर, रंगशालामा इरानले विपक्षीसँग प्रतिस्पर्धा गरिरहँदा इरानी समर्थकले आफ्नो राष्ट्रको झन्डा प्रस्तुत गर्न पाउनेछैनन् । अमेरिकामा रहँदा समर्थकहरूले झन्डा कहीँ पनि प्रदर्शन गर्न नमिल्ने अमेरिकी प्रशासनले मंगलबार नोटिस नै जारी गरेको छ । 

frontline

‘विश्वकपमा इरानको समर्थक गर्न आउने दर्शकहरूले रंगशालाभित्र वा बाहिर झन्डा देखाउन प्रतिबन्ध लगाइएको छ,’ प्रशासनले भनेको छ, ‘यो निर्देशनविरुद्ध जाँदा तत्काल कारबाहीमा पर्न सक्छ ।’ अमेरिकाको यो निर्णयसँगै समर्थकहरू एक किसिमले दुःखी भएका छन् । इरानी टोलीलाई हौसला प्रदान गर्न रंगशालामा झन्डा देखाउने मोहमद मोसिन खानको सपना तुहिएको छ । खानले आफूसाथ इरानको झन्डा बोकेर अमेरिका पुगेका थिए । अब उनको झन्डा लगेज भित्र रहने भएको छ । 

‘दुई राष्ट्रबिचको राजनीति एकतिर र फुटबल अर्कोतिर छ,’ उनले भने, ‘फुटबलमा राजनीति मिसाउन मिल्दैन । यसलाई फोहरी खेल र प्रतिशोधको भावना लिएको भन्नुपर्छ ।’ खान मात्र नभएर अन्य सयौँ संख्याका इरानी समर्थक निराश छन् । उनीहरूले सामूहिक रूपमा अमेरिकाले आफूहरूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । रंगशालाभित्र ४८ मध्ये ४७ राष्ट्रको झन्डा फरफहराउँदा इरानको मात्र झन्डा प्रदर्शन नहुने खानको दुःखेसो छ । ‘हामीहरूको मात्र झन्डा रंगशालामा हुनेछैनन् । 

यसबाहेक अरू सबैका हुनेछन्,’ उनले भने, ‘सबै सहभागी राष्ट्रका खेलाडीदेखि समर्थकहरू आ–आफ्ना राष्ट्रिय झन्डाका साथ उपस्थित हुँदा गौरव महसुस गर्छन् । अमेरिकाले हामीलाई यो अवसरबाट वञ्चित गरेको छ ।’ यसअघि अमेरिकाले विभिन्न राष्ट्रहरूलाई भिसा उपलब्ध गराउने सूचना जारी गरेको थियो । यसमा इरान पनि पर्छ । अमेरिकाले पछिल्लो समयमा इरानसँगको युद्धले विश्वकपमा असर नगर्ने भनेको थियो । तर, अहिले युद्धको असर परेको देखिन्छ । युद्धकै कारण इरान विश्वकपमा सहभागी हुने वा नहुने शंका थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here