भारतमा एक हप्ताअघि नै भित्रियो मनसुन, नेपालमा पनि ‘छिट्टै’

News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपालमा मनसुन सामान्यतः १३ जुनमा भित्रिन्छ, तर यस वर्ष भारतमा २४ मे नै प्रवेश गरेकोले नेपालमा पनि चाँडो आउने सम्भावना छ।
- मौसमविदहरुले भारतमा मनसुनको प्रवेशले भारी वर्षाको सम्भावना रहेको र यातायात प्रभावित हुन सक्ने बताएका छन्।
- नेपालका मौसमविदहरुले यस वर्ष मनसुन वर्षा र तापक्रम दुवै सामान्यभन्दा बढी हुने अनुमान गरेका छन्।
११ जेठ, काठमाडौं । भारतमा सरदरभन्दा एक हप्ता अघि नै मनसुन प्रवेश गरेपछि नेपालमा पनि मनसुन भित्रिन ढिलो नहुने अनुमान मौसमविदहरुले गरेका छन् ।




भारतको केरलामा सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्दछ । तर यस वर्षको मनसुन भारतमा २४ मे अर्थात् जेठ १० गते नै भित्रिएको छ । त्यसैले जल तथा मौसम विज्ञान विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यस वर्ष नेपालमा पनि छिट्टै मनसुन भित्रिने सम्भावना छ ।’
भारतको मौसम विभागले मनसुन भारतको केरलामा प्रवेश गरेको र राजधानी नयाँदिल्लीसहितका विभिन्न ठाउँमा भारी वर्षा भएको जनाएको छ । भारतको मौसम विभागले २४-२६ मेसम्म भारी वर्षाको पूर्वानुमान गर्दै सतर्कता अपनाउन भनेको छ ।
भारतीय मिडियाहरुका अनुसार भारतमा १६ वर्षयताकै छिटो मनसुन भित्रिएको छ । वर्षा भएका स्थानमा गर्मीबाट राहत मिलेको छ तर हावाहुरीसँगैको वर्षाका कारण यातायात सेवा प्रभावित भएको छ ।
नेपालका मौसमविदहरु सामान्यतया भारतमा मनसुन भित्रिएको १० देखि १५ दिनभित्र नेपालमा मनसुन भित्रिने बताउँछन् । यस वर्ष भारतमा सरदर मितिभन्दा एक हप्ता अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि मनसुन आउन ढिलो नहुने वरिष्ठ मौसमविद मीनकुमार अर्याल बताउँछन् । ‘अहिले जलवाष्पयुक्त हावाको जुन खालको मुभमेन्ट देखिएको छ, त्यसले यसपालि मनसुन नेपाल भित्रिन ढिलो नहुन सक्छ ।’
भारतको केरलामा आइसकेको मनसुनलाई ‘वाच गरिरहेको’ बताउँदै अर्यालले तर अहिले नै कुन दिन नेपालमा भित्रिन्छ भनेर भन्न भने नसकिने बताए ।
बंगालको खाडी हुँदै नेपाल आउने मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्दछ । तर अहिले पनि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।
यसको प्रभावले नेपालका विभिन्न स्थानमा केही दिनयता दिनहुँ पानी परिरहेको छ । आज पनि काठमाडौंउपत्यका सहितका केही जिल्लाहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद अर्यालले बताए ।
नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिएर २ अक्टुबरमा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन रहन्छ ।
यस वर्षको मनसुनमा नेपालमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने आँकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ । बढी पानी पर्दा जनधनको क्षति हुने जोखिम पनि बढी हुने भएकाले पूर्वसतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्