प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनले आज सवा ११ बजे मोदीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ। त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय वार्तासँगै नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ।
प्रधानमन्त्री बालेनले भारतसँगको सम्बन्धलाई ठूला पूर्वाधार आयोजना, जलविद्युत् लगानी, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, व्यापार र प्रविधिसँग जोड्ने गरी बलियो आर्थिक एजेन्डा अघि सारेका छन्। विशेषगरी कनेक्टिभिटी, जलविद्युत्, हवाई रुट, क्रिकेट र स्टार्टअप नेपालको प्राथमिकताका एजेन्डा छन्। नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। त्यस्तै, शिक्षा, स्वास्थ्य,कृषि,खेलकुद तथा मानव संशाधनसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ।






प्रतिक्रिया दिनुहोस्