कुपण्डोलमा पौने ३ अर्बमा बनिरहेको हायात प्लेस : ४८ प्रतिशत वित्तीय प्रगति, २०२८ अप्रिलदेखि सञ्चालनको लक्ष्य
ललितपुरको कुपण्डोलमा निर्माणाधीन पाँचतारे होटल हायात प्लेसको निर्माण कार्य निर्धारित समयभन्दा करिब तीन महिनापछि पूरा हुने भएको छ।
होटल निर्माणको वित्तीय प्रगति ४८ प्रतिशत पुगे पनि प्रवर्द्धकले लगानी गर्नुपर्ने इक्विटीको करिब ३२ प्रतिशत मात्रै जुटाएको छ। २ रोपनी ११ आना क्षेत्रफलमा होटल निर्माण भइरहेको हो।
निर्माण सामग्रीको मूल्यवृद्धि, नेपाली रुपैयाँको अवमूल्यन र सञ्चालन सुरु गर्न लाग्ने अतिरिक्त समयले परियोजनाको लागत तथा ऋण भुक्तानी क्षमतामा दबाब पर्ने देखिन्छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार होटल निर्माणको वित्तीय प्रगति सन् २०२६ सेप्टेम्बर २१ सम्ममा ४८ प्रतिशत पुगेको छ।
अघिल्लो रेटिङका क्रममा सन् २०२५ जुनको मध्यसम्म परियोजनाको वित्तीय प्रगति २९ प्रतिशत मात्रै थियो। जग्गा खरिदको लागतबाट प्राप्त प्रगतिसमेत गणना गर्दा उक्त अवधिमा करिब १७ प्रतिशत वित्तीय प्रगति भएको थियो।
परियोजनाको कुल अनुमानित लागत भने अघिल्लो रेटिङको तुलनामा करिब ४ प्रतिशत घटाएर २ अर्ब ८५ करोड ७० लाख रुपैयाँमा झारिएको छ। तर निर्माण सामग्रीको मूल्य बढ्नु, अमेरिकी डलर र चिनियाँ युआनको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु तथा निर्माण अवधि लम्बिनुले संशोधित लागतसमेत बढ्न सक्ने जोखिम रहेको इक्रा नेपालको विश्लेषण छ।
ऋणको जोहो पूरा, प्रवर्द्धकको इक्विटी लगानी अपूरो
होटल निर्माणका लागि आवश्यक ऋणको व्यवस्था पूरा भइसकेको भए पनि प्रवर्द्धकले लगानी गर्नुपर्ने इक्विटीको ठूलो हिस्सा जुटाउन बाँकी छ। परियोजनाको कुल वित्तीय संरचनामा ७० प्रतिशत ऋणबाट र बाँकी ३० प्रतिशत इक्विटीबाट जुटाउने प्रस्ताव गरिएको छ।
इक्रा नेपालका अनुसार आवश्यक इक्विटीको करिब ३२ प्रतिशत मात्रै प्रवर्द्धकले लगानी गरेका छन्। अघिल्लो रेटिङका क्रममा यस्तो लगानी करिब १७ प्रतिशत थियो। अर्कोतर्फ, अघिल्लो रेटिङमा आवश्यक ऋणको करिब ३९ प्रतिशत मात्रै व्यवस्था भएकोमा अहिले शतप्रतिशत ऋणको व्यवस्था भइसकेको छ।
ऋणको मात्रा पूरा भए पनि निर्माणका क्रममा अप्रत्याशित लागत बढेमा परियोजनामा थप रकम आवश्यक पर्ने जोखिम कायमै छ। प्रवर्द्धकले बाँकी इक्विटी समयमै जुटाउन नसकेमा होटल निर्माण पूरा गर्ने र सञ्चालनमा आएपछि ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्ने क्षमतामा समेत असर पर्न सक्ने देखिन्छ।
परियोजना सन् २०२७ अक्टोबरको मध्यसम्म सम्पन्न गर्ने लक्ष्य छ। तर हायातको मापदण्डअनुसार आवश्यक प्रक्रिया तथा व्यावसायिक सञ्चालनपूर्वका तयारीका कारण होटलको व्यावसायिक सञ्चालन मिति सन् २०२८ अप्रिलको मध्यसम्म पुग्ने अनुमान छ। यसअघि सन् २०२७ जुलाईको मध्यदेखि सञ्चालन गर्ने लक्ष्य थियो। त्यो पूरा नहुने निश्चित छ।
होटलको ऋण भुक्तानी पनि सन् २०२८ अप्रिलको मध्यदेखि सुरु हुने तालिका छ। सञ्चालन सुरु गर्ने समय र ऋणको किस्ता भुक्तानी सुरु हुने समय लगभग एकै भएकाले सुरुवाती अवधिमा होटलले पर्याप्त आम्दानी गर्न नसके प्रवर्द्धकबाट थप वित्तीय सहयोग आवश्यक पर्ने इक्रा नेपालले औँल्याएको छ।
प्रतिकोठा लागत २ करोड ७० लाख रुपैयाँ
होटलको कुल लागत र कोठा संख्याका आधारमा प्रतिकोठा लागत तुलनात्मकरूपमा उच्च रहेको छ। १०५ कोठा क्षमताको यो होटलमा प्रतिकोठा लागत करिब २ करोड ७० लाख रुपैयाँ पर्नेछ। यस लागतमा क्यासिनो तथा बैंक्वेट निर्माण खर्चसमेत समावेश छ।
सहरको केन्द्र नजिक रहेको कुपण्डोलमा जग्गाको लागत उच्च भएकाले प्रतिकोठा लागत बढेको हो। त्यसमा प्रस्तावित वित्तीय संरचनामा ऋणको हिस्सा ७० प्रतिशत रहेकाले सञ्चालनका सुरुवाती वर्षमा ब्याज तथा ऋण भुक्तानीको भार बढी पर्न सक्ने देखिएको छ।
होटल व्यवसायमा सञ्चालन खर्चको तुलनामा आम्दानी र अकुपेन्सीको स्तरले वित्तीय अवस्था निर्धारण गर्ने भएकाले अपेक्षित कोठा भरिने दर तथा कोठाको मूल्य हासिल गर्न नसकेमा कम्पनीको ऋण भुक्तानी क्षमता कमजोर हुन सक्ने विश्लेषण गरिएको छ।
काठमाडौँ उपत्यकामा पाँचतारे होटलको प्रतिस्पर्धा बढ्दै
काठमाडौँ उपत्यकाको आतिथ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा उच्चस्तरीय होटल तथा रिसोर्टको संख्या बढ्दै गएको छ। अन्तर्राष्ट्रिय होटल चेनसँग आबद्ध नयाँ होटलहरू पनि निर्माण तथा विकासका विभिन्न चरणमा रहेकाले बजारमा प्रतिस्पर्धा थप तीव्र हुने देखिएको छ।
यस्तो प्रतिस्पर्धाले नयाँ होटलको अकुपेन्सी र आम्दानीमा दबाब पार्न सक्छ। होटलले प्रक्षेपण गरेअनुसार कोठाको मूल्य तथा आम्दानी कायम गर्न नसकेमा ऋणको भार व्यवस्थापन गर्न थप कठिन हुने देखिन्छ।
त्यसमाथि, सायन होटल्सले ललितपुरमा एउटै होटल सञ्चालन गर्ने भएकाले भौगोलिक तथा व्यावसायिक क्षेत्रगत जोखिम पनि रहनेछ।
स्थापित होटलसँग प्रतिस्पर्धा गर्दै नयाँ ग्राहक आकर्षित गर्न सक्ने क्षमता नै परियोजनाको दीर्घकालीन वित्तीय अवस्थाका लागि महत्त्वपूर्ण हुने देखिएको छ।
हायात प्लेस ब्रान्ड र लोकेसनल एड्भान्टेज
कुपण्डोलको व्यावसायिक क्षेत्रमा होटल निर्माण हुनु र अन्तर्राष्ट्रिय होटल चेन हायात प्लेससँग आबद्धता रहनुलाई कम्पनीको सबल पक्ष मानिएको छ।
होटल सहरको केन्द्र, ऐतिहासिक स्थल तथा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पहुँच हुने क्षेत्रमा छ। आसपास विभिन्न कर्पोरेट कार्यालय, कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यालय रहेकाले व्यावसायिक ग्राहक तथा दीर्घकालीन माग सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हायात प्लेससँगको आबद्धताले सञ्चालन सुरु भएको प्रारम्भिक चरणमा ग्राहक आकर्षित गर्न र उपत्यकाका अन्य स्थापित तथा नयाँ अन्तर्राष्ट्रिय ब्रान्डका होटलसँग प्रतिस्पर्धा गर्न सहयोग पुग्ने देखिन्छ। होटल सञ्चालनमा प्रवर्द्धक समूहको अनुभव सीमित भए पनि उनीहरूसँग आवासीय घर तथा रियल इस्टेट परियोजना विकासको अनुभव छ।
सायन होटल्सका प्रवर्द्धक आरभी ग्रुपसँग सम्बन्धित व्यक्ति हुन्। कम्पनीमा अनिशा अग्रवाल र गणेश अग्रवालका नाममा बराबर हिस्साको स्वामित्व छ।
पर्यटन पुनरुत्थानले होटल व्यवसायलाई सहयोग पुग्ने अपेक्षा
नेपालमा पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय पर्यटक आगमन क्रमशः बढ्दै गएको र सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न नीतिगत तथा पूर्वाधारसम्बन्धी पहल गरिरहेको अवस्थालाई पनि सकारात्मक मान्न सकिन्छ।
चालू वर्षको बजेट वक्तव्यमा पनि होटललाई उत्पादनमूलक उद्योगका रूपमा मान्यता दिने उल्लेख गरिएको छ। यसबाट होटलले अन्य उत्पादनमूलक उद्योगसरह सुविधा तथा सहुलियत प्राप्त गर्न सक्छ। पर्यटन पूर्वाधार विकास र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनले पनि दीर्घकालीन रूपमा होटल व्यवसायको माग बढाउन सक्ने देखिन्छ।
भारत र चीनजस्ता ठूलो जनसंख्या भएका मुलुकको बीचमा रहेको नेपालको भौगोलिक अवस्थिति पनि पर्यटक तथा व्यावसायिक आगन्तुक आकर्षित गर्ने सम्भावना कायमै छ।
यद्यपि, पर्यटन क्षेत्रको समग्र सुधारले मात्रै सबै होटलको वित्तीय अवस्था बलियो हुने सुनिश्चित गर्दैन। निर्माण सम्पन्न गर्ने समय र लागत नियन्त्रण, लक्षित अकुपेन्सी हासिल गर्ने क्षमता तथा कोठाको दर कायम राख्न सक्ने अवस्था नै सायन होटल्सको आगामी बाटो तय गर्नेछ।
सन् २०२१ सेप्टेम्बरमा स्थापना भएको सायन होटल्स प्राइभेट लिमिटेडले ललितपुरको कुपण्डोलमा करिब १५ हजार ५७ वर्गफिट क्षेत्रफलको जग्गामा हायात प्लेस ब्रान्डअन्तर्गत पाँचतारे होटल निर्माण गरिरहेको छ।
सुरुमा ११२ कोठाको योजना बनाइएकोमा अहिले परियोजना १०५ कोठामा सीमित गरिएको छ। कम्पनीले सन् २०२८ अप्रिलको मध्यदेखि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखेको छ।






प्रतिक्रिया दिनुहोस्