सुनकोशी-मरिण डाइभर्सनको टेन्डर खोल्नुअघि किन प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ?
१३ कात्तिक, काठमाडौं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लियो ।
सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो ।
तर, उनीहरूलाई प्रहरी हिरासतमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ । ‘नियन्त्रण गरेर ल्याउनु भन्ने आदेश आएपछि सोही अनुसार भएको हो, उहाँहरू अहिले हाम्रो हिरासतमा हुनुहुन्न, हामीले प्रधानमन्त्री कार्यालयमा बुझाएका हौं,’ प्रहरी स्रोतले भन्यो ।
उनीहरूलाई सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा नियन्त्रणमा लिइएको बुझिएको छ । यद्यपि, नियन्त्रणमा लिनुको औपचारिक कारण र उनीहरूमाथि लगाइएको आरोपबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
सिँचाइ विभागले यसअघि आयोजनाको निर्माण ठेक्का तोडेर नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढाएको थियो । गत वर्ष कात्तिकमा तत्कालीन अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको पालामा पटेल–रमण जेभीसँगको ठेक्का तोडिएको थियो । त्यसयता नयाँ ठेक्का प्रक्रिया अघि बढे पनि निर्माणको जिम्मेवारी कसले पाउने भन्ने टुंगो लागेको थिएन ।
अहिले भने नयाँ ठेक्काका लागि प्राविधिक मूल्यांकन सकेर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको थियो । आयोजनाले सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी कम्पनीमध्ये तीन वटालाई प्राविधिक रूपमा योग्य ठहर गरेको थियो ।
आयोजनाले २७ असोज २०८३ मा सार्वजनिक गरेको सूचना अनुसार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई), एनेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेडको प्राविधिक प्रस्ताव सारभूत रूपमा योग्य पाइएको थियो ।






प्रतिक्रिया दिनुहोस्