विकासको नयाँ मानक खडा गर्ने प्रयासमा विद्यानन्द
काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि राजनीतिमा सो पुस्ताको आकर्षण बढ्दो क्रममा देखिन्छ । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नेतृत्व भने सोही उमेर समूहका एक युवाले विगत ४ वर्षदेखि गरिरहेका छन् ।
२९ वर्षीय विद्यानन्द चौधरीले गाउँपालिका हाँकिरहेका मात्र छैनन्, आफ्नो नेतृत्वदायी भूमिकाबाट गाउँपालिकाको विकास र स्थानीयको जीवनस्तर सुधारमा योगदान दिन तल्लीन छन् । आफ्नो कार्यकुशलताकै कारण हालै उनले श्रीलङ्काको कोलम्बोमा ‘वेस्ट मेयर अवार्ड’ समेत प्राप्त गरेका थिए ।
२०७९ को स्थानीय निर्वाचनमा तत्कालीन लोकतान्त्रिक पार्टी (लोसपा)बाट निर्वाचित हुँदा चौधरी मात्र २५ वर्षका थिए । निर्वाचित भएदेखि उनले सुशासन, दिगो विकास र सामाजिक समावेशितामा देखाएको परिपक्वता उल्लेखनीय छ । युवा जोस र सरल स्वभावका उनी स्थानीयका समस्या सुन्न सधैँ मैदानमै भेटिन्छन् । उमेरले ठिटो भए पनि उनको निर्णय क्षमता र जनउत्तरदायी शैलीले छिन्नमस्ताले केही भएपनि परिवर्तनको नयाँ लय समातेको छ । जसले युवा नेतृत्वमाथि भरोसा समेत जगाउन मद्दत गरेको छ ।

चौधरी आफू शिक्षा, स्वास्थ्य,सिचाइ, पूर्वाधार तथा युवा आर्थिक र सामाजिक रूपमा पछि रहेका महिलाहरूलाई कृषिको माध्यमबाट सशक्तीकरणलाई प्राथमिकतामा राख्दै गाउँपालिकालाई नमुना बनाउने अभियानमा लागेको बताउँछन् । सर्वसाधारणका समस्या नजिकबाट बुझेका कारण गाउँपालिकाले आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानमा महत्त्वपूर्ण सफलता हासिल गरेको उनको दाबी छ ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको शिक्षाको सुरुवात, महिला तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, स्वास्थ्य सेवा विस्तार, कृषि प्रवर्द्धन, युवाका लागि स्वरोजगार तथा सीप विकास जस्ता योजनाहरू कार्यान्वयनमा उनले निरन्तरता दिएका छन् ।

करिब ३८.७२ वर्ग किलोमिटरमा फैलिएको छिन्नमस्ता गाउँपालिकामा ७ वडा र १७ वटा गाउँहरू छन् । पालिकाको मुख्य चुनौती न्यून आन्तरिक आय भएको चौधरी बताउँछन् । वार्षिक करिब २० लाख रुपैयाँ मात्र आन्तरिक आम्दानी रहेको र संघ सरकारबाट प्राप्त हुने ८–१० करोडको बजेटले समग्र विकास गर्नु आफैँमा फलामको चिउरा चपाउनु सरह भएको उनको अनुभव छ । तर पनि स्रोतको समुचित परिचालनका लागि अध्ययन समिति गठन गरी क्षेत्रगत प्राथमिकता निर्धारण गरेर काम अघि बढाइएको उनले बताए ।
‘हिलोमुक्त छिन्नमस्ता’ अभियान
निर्वाचित भएलगत्तै चौधरीको पहिलो प्राथमिकता थियो– ‘हिलोमुक्त छिन्नमस्ता ।’ सोहीअनुसार हिजोका दिनमा वर्षायाम सुरु हुनेबित्तिकै एक गाउँबाट अर्को गाउँ जानै नसकिने गरी हिलाम्मे हुने सडकहरू आज फेरिएका छन् । सयौं सडक ढलान (पिसीसी) भएका छन् भने दर्जनौँ सडक पिच गरिएका छन् भने कति हुने क्रममा छ। साथै, वैज्ञानिक ढल निकासका लागि नालाहरू निर्माण भएका छन् ।

राजविराजदेखि छिन्नमस्ता मन्दिर जोड्ने १० किलोमिटर मुख्य सडकको काम कछुवा गतिमा भएपछि अध्यक्ष चौधरीले पटक–पटक तत्कालीन प्रधानमन्त्रीहरूसँग हारगुहार गरे, सडक डिभिजन कार्यालय लहानमा सबै जनप्रतिनिधि सहित धर्नामा बसे र अन्ततः सडकमै सार्वजनिक संवाद गरेर कामलाई गति दिए । महुवा–मोहनपुरस्थित घोडदह नदीमा पुल नहुँदा स्थानीयले भोग्दै आएको सास्ती अन्त्य गर्न उनकै पहलमा पुल निर्माण कार्य सुरु भएको छ । त्यस्तै सखरा-कुपही रमपुरा जोड्ने मरखाही नदीमा पुल नहुँदा बर्खायाममा निकै गाह्रो हुने भएकोले त्यसमा पुल निर्माण भएपछि स्थानीय खुसी देखिन्छन् ।
शिक्षामा सुधार
‘शिक्षामा सुधार नभई समाज बदलिँदैन’ भन्ने मान्यता राख्ने चौधरीले पालिकाका १९ वटा सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि ‘पालिका शिक्षा ऐन’ नै जारी गरेका छन् । स्रोतको अभावका बाबजुद विद्यालयका दयनीय भौतिक संरचनाहरू सुधार गरिएका छन्। त्यहाँका विद्यालयहरूमा अहिले कक्षा ३ सम्म अनिवार्य अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छ ।
बाल विकास केन्द्रहरूमा साना बालबालिकालाई किताबी बोझभन्दा पनि डिजिटल डिस्प्लेमार्फत चित्र र भिडियो देखाएर पढाउने वातावरण मिलाइएको छ । सखडा मावि र कुपी माविमा निःशुल्क प्राविधिक शिक्षा सञ्चालन गरिएको छ । पालिकाले आफ्नै बजेटबाट थप पालिका शिक्षकको व्यवस्थापन गरेको छ भने विपन्न विद्यार्थीका लागि निःशुल्क ट्युसन र लोकसेवा तयारी कक्षाहरू सञ्चालन गरेर युवाहरूलाई निजामती सेवातर्फ आकर्षित गरिरहेको छ ।
स्वास्थ्यमा पहल
चौधरी निर्वाचित हुनुअघि छिन्नमस्ताका ३ वटा वडामा मात्र आधारभूत स्वास्थ्य केन्द्र थिए । अहिले सातवटै वडामा स्वास्थ्य केन्द्र पुगेका छन् । पालिकाले निःशुल्क एम्बुलेन्स सेवा र विभिन्न स्थानमा बर्थिङ सेन्टरहरू स्थापना गरेको छ ।
स्वास्थ्य क्षेत्रमा उनले ल्याएको सबैभन्दा ठुलो परिवर्तन ‘छिन्नमस्ता प्रयोगशाला’को स्थापना हो, जहाँ अहिले ५३ प्रकारका रगत तथा अन्य स्वास्थ्य परीक्षणहरू पालिकास्तरमै उपलब्ध छन् । ‘नियमित स्वास्थ्य क्लिनिक’मार्फत डाक्टरहरू स्वयं जनताको घरदैलोमा पुग्छन् । गर्भवती महिलाहरूको हेरचाहका लागि ‘निःशुल्क पोर्टेबल अल्ट्रासाउन्ड’को व्यवस्था गरिँदै छ, जसले गर्दा गर्भमै बच्चाको अवस्था जाँच गर्न सहज हुने भएको छ ।
यति मात्र होइन, स्वास्थ्य शिविरमार्फत दर्जनौँ महिलामा हुनसक्ने पाठेघरको क्यान्सर समयमै पहिचान गरी उपचारको व्यवस्था मिलाइएको छ । १५ बेडको अस्पताल निर्माणका लागि संघ सरकारसँग निरन्तर पहल भइरहेको चौधरी बताउँछन् ।
बिजुलीको बिल पालिकाले तिर्ने
छिन्नमस्ताका शतप्रतिशत नागरिक कृषिमा आबद्ध छन् । जहाँको मुख्य समस्या सिँचाइ र मलखाद थियो । अध्यक्ष चौधरीले ५ वर्षभित्र हरेक खेतमा कृषि विद्युत पुर्याउने लक्ष्यका साथ कृषि विद्युतीकरण अभियान चलाएका छन् । हालसम्म करिब ७० प्रतिशत खेतमा विद्युत् सिँचाइको पहुँच पुगिसकेको छ भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरेर १०० बिघा खेतमा सौर्य सिँचाइ प्रणाली जडान गरिएको छ ।
त्यस्तै छिन्नमस्ता ५ लोखरमको फुलकाही चोरीमा करिब ७०० बिगा खेतमा सिचाइको पहुँच पुर्याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकै आर्थिक सहकार्यमा करिब २.२५ करोडको लागतमा महत्त्वाकाङ्क्षी सिचाइ परियोजना निर्माणको चरणमा रहेको चौधरी बताउँछन् ।
किसानलाई प्रोत्साहित गर्न पालिकाले एक निर्णय गरेको छ– ‘किसानको कृषि मिटरको सम्पूर्ण महसुल पालिकाले १०० प्रतिशत बेहोर्ने ।’
माटो परीक्षणका लागि शिविरहरू सञ्चालन गरिएका छन् भने डिजिटल अफिसमार्फत किसानलाई मौसम र बजारको जानकारी दिने व्यवस्था गरिएको छ । मन्दिरमा हुने बलि र पूजालाई लक्षित गरी फूल खेती र उन्नत बाख्रा पालनलाई व्यावसायिक बनाउन दीर्घकालीन योजना अघि सारिएको छ ।
बुर्कादेखि प्याडसम्मको यात्रा
मुस्लिम र दलित समुदायको बाहुल्यता रहेको यस पालिकामा महिलाहरू प्रायः घरभित्रै सीमित थिए । अध्यक्ष चौधरीले संयुक्त राष्ट्र संघको विभिन्न एजेन्सीसँग समन्वय गरेर ५६ वटा महिला समूह निर्माण गरेका छन् । करिब १४०० महिलाहरूलाई समेटिएको यस कार्यक्रमले महिलाहरूलाई बुर्का र चुलोबाट बाहिर निकालेर कृषि व्यवसाय र नेतृत्वमा ल्याएको छ । उनीहरूलाई निःशुल्क बीउ, मेसिन र प्राविधिक सहयोग दिएर स्वरोजगार बनाइएको छ ।

अर्को उल्लेखनीय कार्य ‘एक घर, एक प्याड’ अभियान हो । आर्थिक अभावका कारण स्यानिटरी प्याड किन्न नसक्ने विपन्न तथा दलित बस्तीका महिलाहरूका लागि पालिकाले घरमै निःशुल्क प्याड पुर्याउने व्यवस्था गरेको छ । सामाजिक कुरीति विरुद्ध उत्रिएका चौधरीले छिन्नमस्तालाई बालविवाह र जातीय छुवाछुत मुक्त पालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएका छन् ।
पर्यटन र खेलकुद
प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा वार्षिक २५ देखि ३० लाख पर्यटक आउँछन्, जसमा ६० प्रतिशत भारतीय हुन्छन् । यसको ब्रान्डिङ नहुँदा स्थानीयले लाभ लिन नसकेको चौधरीको बुझाइ छ । पालिकाले अहिले त्यहाँ दैनिक साँझ छिन्नमस्ता मन्दिरमा ‘गङ्गा आरती’ सुरु गरेको छ, जसले साँझको समयमा धार्मिक पर्यटकीय आकर्षण बढाएको छ ।
यसैगरी हरेक वर्षको दसैँको फूलपातीको दिन नेपाली सेनाको हेलिकप्टरले उक्त शक्तिपिठ मन्दिरमा पुष्पवृष्टिको सुरुवात गरेको छ ।
१५–२० वर्षदेखि बन्द रहेको दसैँको परम्परागत भलिबल खेललाई ब्युँताउँदै ‘अध्यक्ष कप राष्ट्रिय भलिबल प्रतियोगिता’ सुरु गरिएको छ ।
अध्यक्ष चौधरी आफूलाई जेनजी पुस्ताको प्रतिनिधिको रूपमा चिनाउन चाहन्छन् । उनको कार्यशैली अन्य परम्परागत नेताहरूको भन्दा फरक देखिन्छ । भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनले पुर्याएको क्षतिपछि पुनर्निर्माण होस् भनेर तत्कालीन संघीय सरकार भन्दा पहिले असोज २ गते नै कार्यपालिकाबाट पालिकाको सबै कर्मचारी,शिक्षक तथा जनप्रतिनिधिको २ दिनको तलब- भत्ता राज्यको पुनर्निर्माण कोषमा जम्मा गर्ने निर्णय गराएका थिए । यो कदमको चर्चा पनि भएको थियो । किनकि संघीय सरकारले असोज ८ गते मात्र सबैलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अपिल गरेको थियो ।
अन्य स्थानका नेतृत्वको जस्तो मिडियामा चर्चा नभए पनि काम गर्ने इच्छाशक्तिमा आफूहरू कम नरहेको चौधरीको दाबी छ । ‘हामीसँग पर्याप्त स्रोत साधन छैनन्, तर जनताको सेवा गर्ने अदम्य साहस छ’, उनी भन्छन् । सीमावर्ती क्षेत्र भएकाले भारतको विकास देख्दा आफ्ना नागरिक निराश नहोउन् भनेर आफूले राष्ट्रवादी छवि र विकासको स्पष्ट कार्य योजनाका साथ काम गरिरहेको उनको भनाइ छ ।
चुनौती र भविष्यको बाटो
उल्लेखनीय काम हुँदाहुँदै पनि चुनौतीहरू धेरै रहेको चौधरी स्वीकार गर्छन् । संघ सरकारले दिने अनुदानमा २० देखि ३० प्रतिशतसम्म कटौती गरिदिँदा कार्यसम्पादनमा बाधा पुगेको उनको गुनासो छ । तथापि, ह्याबिट्याट कोरिया जस्ता वैदेशिक संस्थाहरूसँगको सहकार्यमा विपन्न बस्तीमा निःशुल्क शौचालय र ट्युबेल जडान गर्ने काम भइरहेको उनले जानकारी दिए ।
को हुन् चौधरी ?
सामान्यतया ५ कक्षामा पढ्ने बालबालिका खेलकुद र पढाइमा व्यस्त हुन्छन्, तर चौधरीको हकमा यो लागू भएन । सानैदेखि राजनीतिको भूत सवार भएका उनी आज देशकै कान्छो पालिका प्रमुखमध्ये एकका रूपमा स्थापित छन् ।
कक्षा ५ देखि नै विद्यालयको अव्यवस्थाविरुद्ध विद्यार्थी संगठित गर्ने विद्रोही स्वभावका विद्यानन्दले २०६९ सालबाट औपचारिक रूपमा विद्यार्थी राजनीति सुरु गरेका थिए । २०७२ सालको मधेस आन्दोलनमा फ्रन्टलाइनमा रहेका उनी ‘मलेठ घटना’का घाइते समेत हुन् । अधिकार र पहिचानको लडाइँमा उनको दाहिने हातमा प्रहरीले चलाएको गोलीको छर्रा लागेको थियो, जसले उनलाई मधेसको राजनीतिमा थप स्थापित गर्यो।
राजनीतिक यात्राकै क्रममा २०७४ को स्थानीय तह निर्वाचनमा १८ वर्ष पुग्नै लाग्दा उनी वडाध्यक्षको उम्मेदवार बने, तर मात्र १३ मतको झिनो अन्तरले पराजित भए । त्यो हारले उनलाई विचलित बनाउनुको साटो थप ऊर्जा दियो । फलस्वरूप, २०७९ को निर्वाचनमा लोसपाबाट उनले भारी मतान्तरले गाउँपालिका अध्यक्षमा जित हात पारे ।
निर्वाचित भएपछि विद्यानन्दका सामु अर्को चुनौती थियो— ३८ सदस्यीय कार्यपालिकामा उनी आफ्नो दलका एक्ला प्रतिनिधि थिए । तर, पार्टीभन्दा माथि उठेर गाउँको विकास गरौँ भन्ने उनको समन्वयकारी नीतिका कारण अहिले छिन्नमस्तामा दलीय स्वार्थभन्दा माथि उठेर काम भइरहेको उनी बताउँछन् । उसो त उनले नेतृत्व सम्हाल्दासम्म पालिका आन्तरिक द्वन्द्वले ग्रसित अवस्थामा थियो। तर, पार्टीबाट एक्लै निर्वाचित नेतृत्वमा रहेर पनि चौधरीले सो अवस्थालाई तोड्दै छिन्नमस्तालाई प्रदेशकै पहिलो पटक सफलतापूर्वक परिषद् सम्पन्न गर्ने पालिकाको रूपमा स्थापित गरे ।
हिजोका विद्रोही युवा आज एक प्रभावशाली नेतृत्वका रूपमा अगाडि आएका छन् । जनभावनाअनुसार आफूलाई समाजमा समाहित गरिरहेका बताउने उनी भन्छन्, ‘यो मेरो समाजका लागि एउटा सानो पाइला मात्र हो, गर्न धेरै बाँकी छ ।’






प्रतिक्रिया दिनुहोस्