मासिक १२ लाखको जागिर छाडेर नेपालीको ‘ब्रान्डिङ’ मा जुटेका मनोज

विदेश पुगेपछि सबैभन्दा ठूलो अभाव के हुन्छ ? रोजगारी, पैसा वा अवसर ? यीमध्ये कुनै एउटा मात्रै होइन, धेरै नेपालीका लागि विदेश पुगिसकेपछि आफ्नो कुरा बुझ्ने, सही सूचना दिने र आवश्यक पर्दा साथ दिने मानिसको अभाव पनि उत्तिकै ठूलो हुन्छ ।

दुबई पुगेका नेपालीलाई यस्तै एउटा साझा नेटवर्कमा जोड्ने सोचबाट सुरु भएको एउटा अभियान अहिले पाँच हजारभन्दा बढी नेपालीसम्म पुगेको छ । सन् २०२३ को अक्टोबरमा स्थापना भएको दुबई नेपालिज इन्फ्लुएन्सियल ग्रुप (डीएनआईजी) ले विश्वभर विभिन्न पेसा तथा व्यवसायमा रहेका नेपालीहरूलाई एउटै सञ्जालमा जोड्ने उद्देश्यले अघि बढेको छ ।

frontline

यसको उद्देश्य भने केवल नेपालीलाई एउटै डिजिटल समूहमा जोड्नु होइन, उनीहरूबीचको सम्बन्धलाई रोजगारी, व्यवसाय, लगानी, सिप, ज्ञान र अवसरसँग जोड्नु हो ।

यस अभियानका संस्थापक मनोज मरहट्टा भन्छन्, ‘विदेशमा नेपालीको ठूलो संख्या भए पनि उनीहरूबीचको व्यावसायिक र व्यावहारिक नेटवर्क कमजोर छ । तीन वर्षअघि केही साथी र आफ्नो अफिसको टिमबाट सुरु गरेको नेटवर्क अहिले १० देशमा फैलिएको छ ।

हाल दुबईसहित, नेपाल, बेलायत, अमेरिका लगायतका १० देशमा नेटवर्क फैलिएको उनको भनाइ छ । अहिले उक्त नेटवर्कमा पाँच हजारभन्दा बढी नेपाली जोडिएका छन् । विद्यार्थी, कामदारदेखि व्यवस्थापक, व्यवसायी, बैंकका उच्च तहका कर्मचारी, कानुन व्यवसायी, अडिटर, उद्यमी र विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गरेका युवासम्म यसमा जोडिएका छन् ।

मनोजका अनुसार यो कुनै राजनीतिक संगठन होइन । बरु नेपाली जहाँ पुगे पनि उसलाई आवश्यक पर्दा सहयोग गर्नसक्ने एउटा ‘प्रोफेसनल नेटवर्क’ निर्माण गर्ने प्रयास हो ।

‘नेपालीसँग भेट्न मन लाग्थ्यो, तर सर्कल थिएन’

मनोज दुबई पुगेको १२ वर्ष भइसकेको छ । सुरुका दिनमा उनले विदेशमा रहेका नेपालीबीचको सम्बन्धलाई नजिकबाट नियाले । नेपालीहरूसँग भेटघाट हुन्थ्यो । कुराकानी हुन्थ्यो । तर ती कुराकानीमा करिअर, रोजगारी, व्यवसाय, लगानी वा सिप आदानप्रदानका विषयले पर्याप्त ठाउँ नपाएको उनको अनुभव थियो ।

उनी भन्छन्, ‘विदेशमा रहेका नेपालीबीच भेट हुँदा प्राय: राजनीति, गीत–संगीतलगायतका विषयमा कुराकानी हुने गरे पनि व्यावसायिक विषयमा छलफल गर्ने छुट्टै सर्कलको अभाव महसुस भयो ।’

त्यही अनुभवले उनलाई सोच्न बाध्य बनायो । यदि आफूलाई यस्तो नेटवर्क आवश्यक छ भने अरू नेपालीलाई पनि त आवश्यक होला । त्यसपछि केही साथी र आफ्नो कार्यालयको टिमसँग मिलेर उनले एउटा समूह सुरु गरे । त्यो समूहको सुरुवाती अवधारणामै एउटा महत्वपूर्ण नियम राखियो, राजनीतिक दलको गतिविधिलाई समूहभित्र प्रवेश नगराउने ।

‘मान्छेको व्यक्तिगत राजनीतिक धारणा हुनसक्छ, तर समूहको गतिविधि राजनीतिक हुन पाउँदैन,’ मनोजले भने । तीन वर्षअघि केही व्यक्तिबाट सुरु भएको नेटवर्क अहिले हजारौँ नेपाली जोडिने प्लेटफर्म बनेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here