अर्थमन्त्री वाग्लेले भारतमा दिएको अभिव्यक्तिको थापा र बास्कोटाले गरे विरोध

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनअघि भारतमा दिएको अभिव्यक्तिले विवाद सिर्जना गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका वाग्लेले यही कात्तिक ६ गते ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधनको क्रममा ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ बताएका थिए। 

frontline

वाग्लेको उक्त अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै विरोध सुरु भएको हो। राप्रपाका नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापा, एमाले नेता गोकुल बाँस्कोटा लगायतले वाग्लेको अभिव्यक्तिको आलोचना गरेका छन्। 

सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको भन्दै रास्वपा नेतृत्वको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पुर्‍याउन चाहेको बताएका थिए।

‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ। कहिलेकाहीँ समस्या आउँछन्, तर हामी एकअर्कासँग दृढ रूपमा जोडिएका छौँ,’ वाग्लेले भनेका थिए, ‘भारतसँगको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन। कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो। तर, त्यो युग अब सकिएको छ।’

त्यसक्रममा उनले नेपाल र भारतबिच भौगोलिक निकटता मात्रै नभई गहिरो सांस्कृतिक सम्बन्धसमेत रहेको बताएका थिए। ‘नेपालको नयाँ नेतृत्व भारतसँगको सम्बन्ध थप बलियो बनाउन चाहन्छ,’ उनले भनेका थिए।  

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका राप्रपाका नेता थापाले वाग्लेको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यनसमेत भएको भन्दै आलोचना गरेका छन्। 

‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा.स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ।’

​सानो समूहको केही अपवादमूलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु वाग्लेको गलत दृष्टिकोण भएको पनि थापाले बताएका छन्। 

​‘सानो समूहको केही अपवादमुलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु उहाँको पूर्वाग्रही चस्माको उपज हो। नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ,’ थापाले भनेका छन्, ‘हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौँ, तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो। के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन्?’

उनले वाग्लेको यो अभिव्यक्ति वाग्ले आफैँले अघिसारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन्। 

‘वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन?’ उनले प्रश्न गरेका छन्, ‘जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ। के सरकारको धारणा यही हो?’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here