स्विट्जरल्यान्डमा के गर्दैछन् गभर्नर पौडेल ?

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल बीआईएसको बैठकमा सहभागी भए।
  • बैठकमा उनले विदेशी विनिमय सञ्चिति व्यवस्थापन, एआईको प्रयोगबारे छलफल गरे।
  • गभर्नरले भारत र चीनका गभर्नरहरूसँग भेटवार्ता गरी सहकार्यबारे छलफल गरे।

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले विश्वका केन्द्रीय बैंकहरूको बैंक मानिने बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को ९५ औँ वार्षिक बैठक सहभागी भएका छन् ।

frontline

स्विट्जरल्यान्डको बासेलमा आयोजित उक्त उच्चस्तरीय बैठकमा उनले विदेशी विनिमय सञ्चिति व्यवस्थापन, अन्तरदेशीय भुक्तानी प्रणाली र वित्तीय क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् ।

सन् १९३० मा स्थापित र विश्वका ६३ केन्द्रीय बैंकहरू सदस्य रहेको बीआईएसको यस वार्षिक बैठकमा विश्वभरका गभर्नर तथा वित्तीय क्षेत्रका उच्च अधिकारीहरूको सहभागिता थियो ।  बैठकमा गभर्नर डा. पौडेलले ‘उदीयमान बजार र विकासशील अर्थतन्त्रमा वित्तीय समावेशीकरण र सीमापार भुक्तानी’ तथा ‘एआई र सुरक्षा’ जस्ता विषयक अन्तरक्रियामा सहभागिता भएका थिए ।

उनले अन्तरदेशीय भुक्तानीमा देखिएका चुनौती र केन्द्रीय बैंकहरूमा एआईको प्रयोगले ल्याउन सक्ने अवसर तथा जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत व्यवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

बैठकका क्रममा गभर्नर डा. पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्स तथा बैंकिङ विभागका प्रमुख लुइस बेङगोचा लगायतका उच्च अधिकारीहरूसँग विशेष भेटवार्ता गरे । सो अवसरमा नेपालको विदेशी विनिमय सञ्चितिको लगानीलाई विविधीकरण गर्ने, सुन खरिद गर्ने तथा विश्व बजारमा उपलब्ध नयाँ वित्तीय उपकरणहरूमा लगानी गरी प्रतिफल बढाउने विषयमा बीआईएससँगको सहकार्यबारे गहन छलफल भएको थियो ।

सुरक्षित र प्रभावकारी सञ्चिति व्यवस्थापनका लागि थप लगानीका अवसर खोज्ने विषयमा समेत सहमति भएको छ । यसैगरी, गभर्नर पौडेलले छिमेकी राष्ट्रहरू भारत र चीनका केन्द्रीय बैंकका गभर्नरहरूसँग पनि द्विपक्षीय भेटवार्ता गरे ।

भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासँगको भेटमा दुई देशबीचको भुक्तानी प्रणालीलाई थप सहज बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने र जनशक्तिको क्षमता विकासमा निरन्तर समन्वय गर्ने विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोंगशेङसँगको भेटमा बैंकिङ कारोबार र भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने सहमति भएको छ । यो सहभागिताले अन्तर्राष्ट्रिय वित्तीय मञ्चमा नेपालको उपस्थिति मात्र नभई विदेशी सञ्चिति व्यवस्थापन र भुक्तानी प्रणाली आधुनिकीकरणका लागि महत्त्वपूर्ण मार्ग प्रशस्त गरेको राष्ट्र बैंकले जनाएको छ ।

भ्रमणमा गभर्नरका साथ बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नर कार्यालयका निर्देशक शरण कुमार अधिकारी समेत सहभागी थिए ।

#डा.विश्वनाथ पौडेल #नेपाल राष्ट्र बैंक #गभर्नर

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here