तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीका

लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) तिहारलगत्तै खुल्ने भएको छ।

तिहार विदाका कारण भोलिबाट बन्द हुने सरकारी कार्यालय कात्तिक २७ गते शुक्रबार मात्रै खुल्छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विदालगत्तै पीपीए खुलाउने गरी तयारी अन्तिम चरणमा पुर्‍याएको हो।

frontline

पहिलो चरणमा सरकारी लगानी तथा सरकारी स्वामित्वमा रहेका आयोजनाको पीपीए गर्ने गरी प्रक्रिया अघि बढाउन लागिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

‘पहिलो चरणमा पीपीए खुलाउने गरी चैनपुर सेती, बेतन कर्णाली, किमाथांका, सिम्बुवा, जगदुल्ला ‘ए’ र भियुसिएल सोलारलगायतका आयोजनालाई प्राथमिकतामा राखिएको छ। त्यसपछि दोस्रो चरणमा जलाशययुक्त, अर्धजलाशययुक्त तथा ठूला जलविद्युत् आयोजनाको पीपीए खुलाउने तयारी छ’, मन्त्रालयका ती अधिकारीले नेपालखबरसँग भने।

सरकारले पीपीए खुलाउने प्रक्रिया चरणबद्ध रूपमा अघि बढाउन खोजेको छ। पहिलो चरणमा सरकारी लगानी रहेका आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने र त्यसपछि ठूला तथा जलाशययुक्त आयोजनालाई प्राथमिकता दिने योजना बनाइएको हो।

सरकारी लगानीका आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुको उद्देश्य ती आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन आवश्यक वित्तीय तथा नीतिगत आधार तयार गर्नु रहेको मन्त्रालयले जनाएको छ। पीपीए नहुँदा आयोजना विकास, लगानी व्यवस्थापन र वित्तीय स्रोत जुटाउने प्रक्रिया रोकिन पुगेको छ।

मन्त्रालयले दोस्रो चरणमा जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनासँगै ठूला जलविद्युत् आयोजनाको पीपीए गर्ने तयारी छ। यसबाट वर्षायाममा मात्रै बढी विद्युत् उत्पादन हुने नदी प्रवाही आयोजनामा निर्भरता घटाउँदै हिउँदमा समेत विद्युत् उपलब्ध गराउन सक्ने आयोजनाको विकासलाई प्राथमिकता दिन खोजिएको देखिन्छ।

सरकारले पीपीए खुलाउनुअघि आयोजनाको तयारी अवस्था, प्रसारणलाइनको उपलब्धता, वित्तीय व्यवस्थापन र राष्ट्रिय विद्युत् प्रणालीको आवश्यकतालाई आधार बनाउने गरी मापदण्ड तयार गरेको छ।

विद्युत् खरिद सम्झौता लामो समयदेखि रोकिँदा निजी क्षेत्रका मात्रै नभई सरकारी लगानीका आयोजनासमेत प्रभावित हुँदै आएका छन्। पीपीए नहुँदा बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाउन र निर्माणको वित्तीय व्यवस्थापन गर्न सकिँदैन।

मन्त्रालयका ती अधिकारीले मंसिरमा पीपीएको काम सबै सक्ने गरी तयारी तीव्र बनाइएको बताए।

‘तिहार बिदा सकिनेलगत्तै पीपीए खुलाउँछौँ। पहिलो चरणमा सरकारी लगानीका आयोजनाको पीपीए तिहारलगत्तै खुल्छ। अनि त्यसपछि क्रमश: निजी क्षेत्रले अघि सारेको आयोजनाहरूको पीपीए हुन्छ। आज नै पीपीएको प्रक्रिया अघि बढाउने योजना थियो तर तयारी पूरा नभएकाले तिहार बिदालगत्तै सरकारी परियोजनाको पीपीए अघि बढ्छ’, उनले थपे, ‘मंसिरमा सबै परियोजनाको पीपीए टुंग्याउने योजना छ। स्ट्यान्डर्ड बनाएर पीपीए खुलाउने र टुंग्याउन ऊर्जा मन्त्रालय अब सक्रिय बन्छ।’

पीपीए खुल्न लागेका सरकारी लगानीका २१० मेगावाट चैनपुर सेती अर्धजलाशय, ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशय, ४५४ मेगावाटको किमाथांका अर्धजलाशय, ७०.३ मेगावाटको सिम्बुवा खोला, १२४ मेगावाटको जगदुल्ला ‘ए’ हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here