राप्रपाको प्रदर्शन : तीनकुनेको कमजोरी सुधार्दै प्रहरी, आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौँको बल्खुमा विरोधसभाको आयोजना गर्दैछ । लघुवित्त पीडितहरूले रत्नपार्क क्षेत्र र शिक्षकहरूले माइतीघरमा प्रदर्शनको आयोजना गरेका छन् ।

चैत १५ मा तीनकुनेमा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा सुरक्षा कमजोरी गरेको भनेर आलोचना खेपेको प्रहरीले मंगलबारको कार्यक्रममा चुस्तता कायम गर्ने रणनीति बनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

frontline

बल्खुको सभामा मात्रै २ हजार भन्दा धेरै प्रहरी परिचालन गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरा भन्छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वहरूसँग पनि समन्वय गरिरहेका छौँ, उहाँहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुभएको छ ।’

बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने प्रहरीको रणनीति छ । बल्खु क्षेत्रमा परिचालित हुने सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको बिचमा  ‘एकीकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय गरिएको छ । सोमबार साँझ बसेको तीनवटा सुरक्षा निकायका प्रमुखहरूको बैठकले सूचना तलसम्म सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने निर्णय गरेका हुन् ।

बल्खुमा बल प्रयोग गर्नुपर्ने अवस्था आएमा सिलसिलेवार बल प्रयोग गर्ने निर्णय गरिएको छ । आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको बिचमा भएको छलफलमा सहभागी एकजना प्रहरी अधिकृत भन्छन्, ‘बल प्रयोग गर्नुपर्ने अवस्था आएमा तीनवटै सुरक्षा निकायसँग समन्वय गरेर सिलसिलेवार बल प्रयोग गर्ने रणनीति अख्तियार गरिएको छ ।’

राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले प्रदर्शनस्थलको सूचना संकलन गर्नेछन् । सूचना संकलन गर्न सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको एसपी अपिल बोहराले बताए ।

तल्लो तह (जवान) सम्मा सूचना सेयर गर्ने र सूचनाको ग्याप हुन नदिने सुरक्षा प्रमुखहरूको निर्णयपछि फिल्डमा खटिने सुरक्षाकर्मीहरूलाई ब्रिफिङ गरिएको छ । प्रदर्शनस्थलको सुरक्षाको लागी काठमाडौँ उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइएको छ ।

शिक्षकहरूले माइतीघर मण्डला र लघुवित्त पीडितहरूले रत्नपार्कमा प्रदर्शनको आयोजना गरेका छन् । माइतीघर र रत्नपार्कको प्रदर्शनमा अवाञ्छित गतिविधि नहुने प्रहरीको आकलन छ । दुई ठाउँमा १५ सयभन्दा धेरै प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरू बताउँछन् ।

थप ७ वटा प्रदर्शन

मुख्य ३ वटा प्रदर्शन बाहेक काठमाडौँ उपत्यकामा मंगलबार थप ७ वटा प्रदर्शन हुँदै छन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले लगनखेलमा प्रदर्शनको आयोजना गरेको छ । जनमोर्चाका अगुवा कार्यकर्ता रोशन दानीका अनुसार लगनखेलमा भेला भएर राजमोले माइतीघर सम्म प्रदर्शन गर्नेछ । दानी भन्छन्, ‘हामीले संघीयता खारेजीको माग गरेर ३ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छौँ ।’

आवासीय चिकित्सक, पीछडावर्ग संघर्ष समितिका खगेन्द्र ठाकुर र जनताको खबरदारी नेपालले प्रदर्शनको आयोजना गरेका छन् । जनताको खबरदारी नेपालले मृत्युदण्ड दिने कानुन ल्याउन माग गरेर प्रदर्शनको आयोजना गरेको बताइएको छ ।

राष्ट्रवादी साझा संगठन नेपालकी माया माण्डेले राजतन्त्र पुनर्स्थापनाको माग राखेर माइतीघरमा धर्ना कार्यक्रम गर्दै आएकी छन् । मंगलबार १० वटा प्रदर्शनको कार्यक्रम आयोजना भएको र सबै कार्यक्रममा आवश्यक सुरक्षा प्रबन्ध गरिएको एसपी अपिल बोहराले बताए । 

राप्रपा प्रदर्शन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here