सन्तोषी महत मृत्यु प्रकरण : इन्स्पेक्टर जोशी र हबल्दार शाही पुर्पक्षका लागि थुनामा

१२ चैत, पोखरा । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी र पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार जोशी र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

frontline

इन्स्पेक्टर महत फागुन १० गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै उनकै भाइ विनोदले मृत भेटिएको भोलिपल्टै किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीलगत्तै इन्स्पेक्टर जोशी पक्राउ परेका थिए भने प्रहरी अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाही पनि पक्राउ परेका थिए ।

इन्स्पेक्टर महत र जोशीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको परिवारले बताएको थियो । महतको विवाह उनले रोजेकै केटासँग गरिदिन परिवारमा सल्लाहसमेत थियो । तर, एकाएक आफू कार्यरत रहेको ठाउँमै महत मृत अवस्थामा भेटिएपछि किटानी जाहेरी परेको हो ।

‘परिवारले किटानी जाहेरी दिनेबित्तिकै हामीले इन्स्पेक्टर जोशीलाई पक्राउ गरी अनुसन्धान थालेका हौं । अनुसन्धानकै क्रममा महतसँगै लामापाटनमै कार्यरत हबल्दारलाईसमेत पक्राउ गरी सुक्ष्म अनुसन्धान गरेर ८ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएका थियौं,’ कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले भने, ‘मुलुकी अपराध संहिताको १८५ बमोजिम मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले ९ गते अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।’

सोहीबमोजिम सोमबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको एसपी ओलियाले जानकारी दिए । आत्महत्या गर्न दुरुत्साहन दिने कार्यमा संलग्न हुनेलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।

न्यायाधीश ढकालको इजलाशले गरेको आदेशमा दुबै जना आत्महत्या गर्न दुरुत्साहन दिने कार्यक्रम संलग्न छैनन् भन्ने पुष्टि हुन नसकेकाले उनीहरुलाई पुर्पक्षका लागि पठाउँदा प्रहरी संगठनमा पनि सकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।

डीआईजी सिंह नेतृत्वमा छानबिन

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंह नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।

महत सशस्त्र प्रहरी जवान र असई हुँदै इन्स्पेक्टर भएकी थिइन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ८ लाँगर्चेकी सन्तोषी महतले २०७२ सालमा सन्तोषीले सशस्त्र प्रहरी सिपाहीमा भर्ती भएर २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । यही साल इन्स्पेक्टरमा नाम निकालेर पोखरामै तालिम लिइरहेकी थिइन् । महतले परिवारलाई तालिम निकै उत्कृष्ट भएको भन्दै खुसी साटेकी थिइन् ।

नेपाल प्रहरीको असइ पदमा कार्यरत उनका भाइ विनोदका अनुसार सन्तोषी इन्स्पेक्टरमा बढुवा भएर तालिम लिइरहँदा परिवारमा निकै खुसी छाएको र उनको विवाह उनलै रोजेको केटासँग गरिदिने सल्लाह पनि भएको थियो । तर, सन्तोषीको मृत्युले परिवारलाई अप्रत्यासित बज्रपात दिएको भाइ विनोदको भनाइ थियो ।

सशस्त्रकै १६ बेसिकका इन्स्पेक्टर महत र जोशीबीच प्रेम सम्बन्ध रहेको अनि प्रेममा दरार आएपछि आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप थियो । प्रहरीले इन्स्पेक्टर सन्तोषी र विवेकको मोबाइल लिएर अनुसन्धान गरेको थियो । त्यहाँबाट उनीहरुबीचको सम्बन्ध र घटनाबारे पनि पुष्टि गर्न बल पुगेको प्रहरी स्रोतको भनाइ छ ।

सशस्त्र प्रहरीको छुट्टै छानबिन

इन्स्पेक्टर महतको मृत्युको घटना कास्की प्रहरीले अनुसन्धान गरिरहेको थियो भने यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरीले पनि छुट्टै समिति गठन गरेको थियो । ‘सशस्त्रले बेग्लै छानबिन समिति बनाएको थियो भने कास्की प्रहरीले छुट्टै अनुसन्धान गरिरहेको थियो । प्रहरीकै अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय हुँदै मुद्दा अदालतमा पुगेको हो,’ एसपी ओलियाले भने, ‘अदालतले आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here