एक खेलअगावै वेस्ट इन्डिज ‘ए’लाई शृंखला
लगातार तीन खेल जित्दै भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको ५ टी-२० शृंखला एक खेलअगावै जितेको छ।
बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखला ३-१ ले जितेको हो। गत शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। उक्त एक खेलमा पराजय बेहोरेको वेस्ट इन्डिजले त्यसपछिका दुई खेलमा भने पुनरागमन गर्दै शृंखलामा कब्जा जमायो।
आइतबार सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई १० रनले पराजित गरेको थियो। यस्तै, बुधबार सम्पन्न तेस्रो खेलमा पनि वेस्ट इन्डिज ७६ रनले विजयी भएको थियो। शृंखलाको अन्तिम खेल शनिबार हुनेछ।
रोहितमात्रै चले
बिहीबार वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १८१ रन मात्रै बनाउन सक्यो।
नेपालका कप्तान रोहितकुमार पौडेलबाहेक अन्य कुनै ब्याटरले खेलमा चमत्कारी ब्याटिङ गर्न सकेनन्। ४७ बल खेलेका रोहितले ७ चौका र ५ छक्का प्रहार गरे।
जारी शृंखलामा लयमा रहेका एकमात्र ब्याट्सम्यान रोहित हुन्। वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा रोहितले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए। ५४ बल खेलेका उनले १० चौका र ६ छक्का प्रहार गरे।
दोस्रो खेलमा पनि रोहितले उही लयलाई पछ्याउँदै नेपालको स्कोर कार्डमा ७१ रन थपे। ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरे।
तर, तेस्रो खेलमा भने मुख्य प्रशिक्षक मोन्टी देसाईंले उनलाई आराम दिएका थिए। सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्शनकुमार झाले १९/१९ रन बनाए।
सोमपाल कामी १० रनमा आउट हुँदा अविनाश बोहरा १७ रनमा अविजित रहे। वेस्ट इन्डिजका म्याथ्यू फोर्ड र हेडेन वाल्शले ३/३ विकेट लिए। यस्तै, फेबियन एलेन, गुडाकेश मोटीले २/२ विकेट लिए।
फ्लेचर र चार्ल्सको अर्धशतक
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको हो।
वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए। ५४ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे।
३० बल खेलेका जोनसन चार्ल्सले ३ चौका र ६ छक्कासहित ५८ रन बनाए। यस्तै, फेबियन एलेन ३३ रनमा अविजित रहे। नेपालका कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए। प्रतिश जीसीको नाममा १ विकेट रह्यो।
प्रतिक्रिया दिनुहोस्