डा. केसीको स्वास्थ्य थप गम्भीर, हेलिकोप्टरबाट काठमाडौँ लगियो
इलाम : २५ औँ सत्याग्रहमा इलाममा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेसँगै उनलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ। चिकित्सकहरूले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप सुविधा सम्पन्न अस्पतालमा सार्न सल्लाह दिएसँगै केसीलाई काठमाडौँ लगिएको हो।
डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेका छन्। इलामको नारायण मन्दिरमा सत्याग्रहमा बसेका डा. केसीको सत्याग्रहको तेस्रो दिनमै स्वास्थ्य बिग्रिएपछि शनिबार साँझ इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा थप जटिलता देखिएसँगै उनलाई आइतबारदेखि अक्सिजनसमेत दिन थालिएको थियो।
वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पूर्वी पहाडी जिल्ला इलामलाई पुनः सत्याग्रह स्थल बनाउँदै बिहीबार साँझ ५ बजेदेखि अनशन सुरु गरेका थिए। 
पूर्वाधार र कानुनी मापदण्डबिनै चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको, चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्वयुक्त निर्णयहरू गरिएको र विगतका सहमतिहरू कार्यान्वयन नभएको भन्दै उनी पुनः आन्दोलित भएका हुन्।
डा. केसीले अनशन सुरु गर्नुअघि गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक न्यूनतम पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्डविना नै चालु शैक्षिक सत्रदेखि एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने निर्णय र मापदण्डविपरीत विभिन्न कलेजहरूमा सिट वृद्धि गर्ने कदम तत्काल खारेज हुनुपर्ने माग गरेका छन्।
उनले आयोगका पदाधिकारीहरूको निष्पक्ष छानबिनको मागलाई अर्को मुख्य विषय बनाएका छन्। चिकित्सा शिक्षा आयोगका वर्तमान उपाध्यक्ष तथा सम्बन्धित विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, व्यावसायिक अनुभव, स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयहरूबारे उच्चस्तरीय निष्पक्ष छानबिन गरिनुपर्ने र छानबिनबाट दोषी ठहरिएमा कानुनी कारबाही हुनुपर्ने उनको माग छ।
यसैगरी सार्वजनिक स्रोतबाट निर्मित गेटा शिक्षण अस्पताललाई कुनै पनि शैक्षिक कार्यक्रम सुरु गर्नुअघि तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनुपर्ने माग उनँले दोहोर्याएका छन्। आवश्यक सम्पूर्ण पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा भएपछि मात्र त्यहाँ गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गरिनुपर्ने र विश्वविद्यालयसम्बन्धी ऐनका विवादित तथा दलीय प्रभावयुक्त प्रावधानहरू परिमार्जन गरिनुपर्ने उनको अडान छ।
डा. केसीले छात्रवृत्ति र चिकित्सा शिक्षाको गुणस्तर रक्षालाई अघि सारेका छन्। सार्वजनिक तथा सरकारी स्रोत प्रयोग हुने शिक्षण संस्थाहरूमा अनिवार्य ७५ प्रतिशत छात्रवृत्तिको कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने र निजी मेडिकल कलेजको व्यापारिक स्वार्थअनुकूल छात्रवृत्ति कटौती गर्ने तथा मापदण्डविना सिट बढाउने खेल रोकिनुपर्ने उनको भनाइ छ।
सरकारसँग विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन हुनुपर्ने उनको माग रहेको छ। विशेष गरी गत २०८३ साउन ११ गते सरकारसँग स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायका विषयमा भएको सहमति पालना हुनुपर्ने उनको जोड छ। उक्त सहमतिमा समेटिएका २०८२ भदौ २४ गते देशभर भएका आगजनी, लुटपाट र तोडफोडलगायतका विध्वंसात्मक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको विषयसमेत अविलम्ब कार्यान्वयन हुनुपर्ने उनले उल्लेख गरेका छन्।
डा. केसीले देशका विभिन्न भागमा सरकारी मेडिकल कलेजहरूको विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमतिहरू शीघ्र कार्यान्वयन गरिनुपर्ने र मधेस प्रदेशमा निर्माणाधीन बर्दिवास मेडिकल कलेजको आयोजना खारेज गर्ने सरकारको निर्णय तत्काल बदर गरी निर्माण कार्य अघि बढाउनुपर्ने उनको माग छ।
७ वर्षअघि पनि इलाममै बसेका थिए १६ औँ अनशन
डा. केसीले इलाममा अनशन बसेको यो पहिलो पटक भने होइन। यसअघि उनले विक्रम संवत् २०७५ पुस २५ गते (सन् २०१९ जनवरी ९) इलाम नगरपालिका–७ स्थित पुरानो सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको भवनमा आफ्नो १६औँ सत्याग्रह गरेका थिए।
त्यतिबेला (७ वर्षअघि) उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसद्बाट पारित हुनुपर्ने मुख्य माग राखेका थिए। त्यसका साथै इलामसहित पाँचै प्रदेशका तोकिएका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, र चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिनुपर्नेजस्ता मागहरू उनले अघि सारेका थिए। १६औँ अनशनका क्रममा उनको स्वास्थ्यस्थिति गम्भीर बनेपछि नवौँ दिनमा सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो।
पुनः इलामबाटै २५औँ अनशनको उद्घोष गर्दै डा. केसीले चिकित्सा शिक्षा नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र भएकाले यसमा व्यापारिक स्वार्थ र गुणस्तरहीनता स्वीकार्य नहुने स्पष्ट पारेका छन्। सरकारले समयमै आफ्ना मागहरू सम्बोधन नगरेकाले अनशनबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र परिणामको जिम्मेवार सरकार स्वयं हुनुपर्ने उनको भनाई छ।
डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै उनको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका माग राख्दै विगत पाँच दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न डा. केसीले लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएको संघले स्मरण गराएको छ।
संघका अनुसार पछिल्लो समय डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनको शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै श्वासप्रश्वासमा समेत कठिनाइ देखिएको विज्ञप्तिमा उल्लेख छ।
नेपाल चिकित्सक संघले डा. केसीले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। संघले डा. केसीसँग अविलम्ब वार्ता गरी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
यता पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवम् सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता केसीले ६ महिनाको अवधिमा दुईपटक आमरण अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएकी छन्। कार्कीले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले तत्काल वार्ता गरी उनका माग सम्बोधन गर्नुपर्ने बताएकी हुन्।






प्रतिक्रिया दिनुहोस्