म्याग्दे गाउँपालिका जिल्लाकै उत्कृष्ट, प्रदेशमा तेस्रो
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा)मा म्याग्दे गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिका भएको छ । आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार ९४.५ अंक प्राप्त गर्दै गाउँपालिका उत्कृष्ट बनेको हो । गाउँपालिका तनहुँ जिल्लाको प्रथमका साथै गण्डकी प्रदेशको तेस्रो भएको छ ।
लिजाका १० वटा विषय सूचकका कुल १०० अंकभारमा गाउँपालिकाले ९४.५ अंक प्राप्त गरेको छ । सुशासन र पारदर्शी भएर काम गरेर स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा उत्कृष्ट भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उत्कृष्ट हुने दृढ इच्छा शक्तिसहित काम गरेर सो अंक प्राप्त गर्न सफल भएको उनले सुनाए । उनले भने, ‘ अनावश्यक खर्च कटौती तथा अनावश्यक कार्यक्रम रद्द गरेर हामीले काम गर्यौँ ।’
योजनाबद्ध रुपमा काम गर्न कार्ययोजना, कार्यविधि तथा नीति नियम निर्माणमा विशेष ध्यान पुर्याउन काम गरेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘सञ्चालन गरेका परिणाममुखी कामलाई नबिर्सन सुचीकृत गरेर राख्ने गरेका छौँ ।’
पालिकाका कर्मचारी र जनप्रतिनिधिले समन्वय र भावनात्मक सम्बन्ध राखेर काम गरेकाले उत्कृष्ट काम गर्न सफल भएको उनले सुनाए । गत आर्थिक वर्ष स्थानीय तह संस्थागत स्वमुल्यांकन लिजामा उत्कृष्ट अंक ल्याएपछि यो वर्ष पनि उत्कृष्ट हुन दबाव मिलेको उनले बताए ।
उनले भने, ‘ यस वर्ष पनि उत्कृष्ट अंक ल्याउने गरी काम गरिरहेका छौँ ।’ कर्मचारी संयन्त्रबाट केहि काम गर्दा त्रुटी भएमा समस्या हुन सक्ने उनले बताए । त्यसैले कर्मचारीसँग सहकार्य र समन्वय गरेर उत्कृष्ट काम गर्न लागि परिरहेको अध्यक्ष श्रेष्ठले बताए ।
यसअघि म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले स्थानीय तह संस्थागत स्वमुल्यांकन लिजामा ८७.७५ अंक प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्