काठमाडौंका १८ पालिकाले स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसन राख्न प्रक्रिया सुरु गर्ने
काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरूले स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेसन जडान गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएका छन् । काठमाडौंको टोखा नगरपालिकाका बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत् प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल काम सुरु गर्ने निर्णय गरेको हो ।
उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले स्मार्ट सडकबत्ती, हाइमास्ट स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसन जडानका लागि सबै नगरपालिकाहरू तयार भएको बताए । फोरमको अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले उपत्यकाका नगरपालिकाहरुले स्मार्ट सडकबत्ती जडानका लागि स्मार्ट सडकबत्तीका लागि बजेट छुट्याएर काम गरेको बताए ।
‘धेरैजसो पालिकाहरूले बजेट छुट्याउनुभएको छ, नछुट्याउनु भएकाले पनि बजेट व्यवस्थापन गरेर काम गर्ने छलफल भएको छ‚’ उनले भने ।
फोरमको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बोलाएर छलफल गरेको थियो ।
छलफलमा घिसिङले सडकबत्तीका एकमुस्ट टेन्डर गर्न सकिने बताएका थिए । कुलमानको प्रस्तावपछि नगरहरूले सोहीअनुसारको तयारी गरेका छन् ।
‘धनगढीमा सडकबत्ती बल्यो कि बलेन भनेर काठमाडौंबाटै हेर्न मिल्ने अवस्था छ, यस्तो बेलामा राजधानी सहर नै अँध्यारोमा बस्न हुँदैन,’ उनले भने । घिसिङले सबै पालिकाहरूसँग सहकार्य गरी स्मार्ट सडक बत्ती जडानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनलगायत विषयमा समेत चर्चा भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बैठकमा विद्युतीय सवारीको माग र प्रयोग अत्यधिक बढिरहेकाले उपत्यकाको ठाउँ ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने बताएका थिए । ‘विद्युतीय गाडीको माग अत्यधिक बढेको छ, चार्जिङ स्टेसनका लागि पालिकाहरूले संयुक्त लगानी गर्न गर्नुहोस्‚’ बैठकमा कुलमान घिसिङले भने । त्यस्तै मेयर्स फोरमको बैठकले उपत्यकाको वायु गुणस्तर व्यवस्थापनका लागि उपत्यका सबै पालिकाले आवश्यक पहल गर्ने र वातावारणसँग काम गर्ने संघसंस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ ।
वातावरणविज्ञ भूषण तुलाधारले उपत्यकामा वायु प्रदूषणको अवस्थाबारे जानकारी गराएका थिए । वातावरण संरक्षणका लागि केही पालिकाहरूले गरेका असल अभ्यासको उदाहरण दिँदै काठमाडौंको हावा स्वच्छ बनाउन पालिकाहरूले धेरै काम गर्न सक्ने उनले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्