गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक सम्पर्कविहीन

काठमाडौं : मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन्। 

बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्। बेपत्ता दुबैजना पुरुष हुन्। 

frontline

काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए। उनीहरूले असोज २४ गतेबाट आरोहण सुरु गरेका थिए। सँगै गएका गाइडले असोज २९ गतेदेखि उनीहरू बेपत्ता भएको खबर काठमाडौंस्थित कम्पनीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो।  

उक्त हिमालको उचाई ७४५५ मिटर रहेको छ। आरोहीहरु ७ हजार ५० मिटरबाट सम्पर्कविहीन भएका हुन्। बेपत्ता भएपछि हेलिकोप्टरबाट उनीहरुको खोजी गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परेको छ। तर उनीहरू भने फेला परेका छैनन्। प्रहरीले बेपत्ता भएका जापानीजका परिवारलाई समेत खबर गरिएको बताएको छ। 

जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख कोपिला चुडालले सम्पर्कविहीन भएका जापानी आरोहीको खोजी कार्य गरेपनि अहिलेसम्म केही पत्ता नलागेको बताइन्। उनले अन्नपूर्णसँग भनिन्,‘हेलिकोप्टरबाट समेत खोजी गर्‍यौं। तर अहिलेसम्म बेपत्ता भएकाहरूलाई भेटाएका छैनौं।’ 

अहिले नेपालस्थित जापानी राजदूतावास, कस्मो कम्पनी र प्रहरी खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here