अपाङ्ग महिला संघको समन्वयमा कानुनी सचेतना कार्यक्रम -बुढानिलकण्ठ
भूमिकला पौडेल
बुढानिलकण्ठ नगरपालिका, वडा न.ं ८ को आयोजना तथा नेपाल अपाङ्ग महिला संघको समन्वयमा “कानुनी सचेतना कार्यक्रम” राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विषयमा बुढानिलकण्ठ नगरपालिका, वडा न.ं ८ मा बसोवास गर्ने विशेष गरी अपाङ्गता भएका महिला तथा व्यक्तिहरूलाई जानकारी होस भन्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
सचेतना कार्यक्रमलाई संवोधन गर्नु हुँदै सो कार्यक्रमका प्रमुख अतिथी बाग्मती प्रदेश सभा सांसद माननिय जयराम थापाले अपाङ्गता भएका व्यक्तिहरूको अरू सरह अधिकार रहेको तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन लगायतका कानुनी प्रावधानहरूले सुनिश्चित गरेको बताउनु भयो । त्यसैगरी कार्यक्रमका अतिथी बुढानिलकण्ठ नगरपालिका, वडा न.ं ८ का वडाध्यक्ष सुमन तामाङले वडा न.ं ८ मा सिमित बजेटका बावजुद पनि वडाले आफै नै बोलाएर बजेट उपलव्ध गराएको जानकारी दिनुहुँदै यस कार्यक्रमले केही मात्रामा भएपनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार बारे सचेतना गर्न सफल रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सभापतित्व गर्नुहुँदै नेपाल अपाङ्ग महिला संघका उपाध्यक्ष मिना पौडेलले वडा न.ं ८ ले आफै पहल गरेर यसरी कार्यक्रम गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै सबै जनप्रतिनिधीहरूले अपाङ्गता भएका महिलाहरू लागि कार्यक्रम तथा बजेट छुट्टयाउँनका लागि पहल गर्नु पर्ने बताउँनुभयो । सो कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका महासचिव देवकला पराजुलीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी कानुनी सचेतना बारे सहजिकरण गर्नुभयो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका तथा वडा न.ं ८ का जनप्रतिनिधीहरू, बुढानिलकण्ठ स्थित अपाङ्गता महिला सञ्जालका सदस्यहरू, अपाङ्गता भएका महिला तथा व्यक्तिहरू, नेपाल अपाङ्ग महिला संघका प्रतिनिधीहरू लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्