बौद्ध विश्वविद्यालयको ट्रान्सक्रिप्टमा फ्याकल्टी फरक परेपछि विद्यार्थी तनावमा
११ कात्तिक, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन लगायतका व्यावसायिक शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रमा फ््याकल्टी फरक बनाएर ट्रान्सक्रिप्ट दिएपछि विद्यार्थीहरू तनावमा परेका छन् ।
विगतमा डेभलपमेन्ट स्टडी एन्ड एप्लाइड साइन्सअन्तर्गत सञ्चालित इन्जिनियरिङ र सामाजिक शास्त्र संकायअन्तर्गत सञ्चालित व्यवस्थापन एवं पर्यटनलगायतका व्यावसायिक शैक्षिक कार्यक्रमलाई सरोकारवालासँग छलफल नै नगरी एकमुष्ट प्रायोगिक बौद्ध अध्ययन संकायअन्तर्गत राखेपछि आफूहरूको करिअर र भविष्यमा समस्या भएको विद्यार्थीको गुनासो छ ।
विश्वविद्यालयबाट सम्बन्धनप्राप्त लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी ललितपुरका नवौं ब्याचका विद्यार्थी नवीन अधिकारीले आफूले पढेको फ्याकल्टीभन्दा फरक फ्याकल्टी एप्लाइड बुद्धिस्ट स्टडिज उल्लेख गरेर ट्रान्सक्रिप्ट आउँदा अन्योल भएको बताए ।
‘बौद्ध विश्वविद्यालयले एउटै ब्याचका विद्यार्थीको ट्रान्सक्रिप्टमा अलगअलग फ्याकल्टी उल्लेख गरेर प्रमाणपत्र दिएपछि बढुवा लगायतका करिअरमा के हुने हो भन्ने अन्योल थपिएको छ,’ अधिकारीले भने, ‘विश्वविद्यालयको गल्तीलाई मन्त्रालयले नै कानुनी र शैक्षिक आधार स्पष्ट गर्नुपर्छ ।’
अर्का विद्यार्थी प्रनेश श्रीवास्तवले पनि विज्ञान संकायअन्तर्गत विपद व्यवस्थापन विषय अध्ययन गरेकामा एप्लाइड बुद्धिस्ट फ्याकल्टीको ट्रान्सक्रिप्ट आएपछि तनावमा परेको बताए ।
आफू बढुवा र विद्यावारिधिको प्रक्रियामा रहेकोमा लोकसेवा आयोग र विश्वविद्यालय दुवैबाट कुनै स्पष्ट जवाफ र रेस्पोन्स नपाउँदा अन्योलमा परेको उनले बताए ।






प्रतिक्रिया दिनुहोस्