कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना अचेत फेला

७ माघ, काठमाडौं । काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना अचेत अवस्थामा फेला परेका छन्।

शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।  

frontline

पाँचौं तलामा कोठाको झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्नेक्रममा त्यहाँ रहेका चार जनालाई एक्कासि स्वासप्रस्‍वासमा समस्या आउँदा निस्सासिएका थिए। सोही घरमा बस्नेले थाहा पाएपछि ढोका खोलेर हेर्दा उनीहरू अचेत अवस्‍‍थामा फेला परेको एसएसपी कार्कीले बताए।  

‘३५ दिनको बच्चा पनि थियो। जाडो भएको हुनाले मकल बालेका रहेछन्। नजिकैका एक जनाले देखेपछि अस्पतालमा पुर्‍याए,’ उनले भने, ‘गुम्सिएपछि कोठामा अक्सिजनको कमी भएर निस्सासिँदै जान्छ।’

९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका छोरा श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन्। 

उनीहरूलाई तत्कालै उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा पुर्‍याएको थियो। उनीहरूको आइसियूमा उपचार भइरहेको छ।

यस्तै सिभिलमा आइसियू खाली नभएपछि छलमायाको थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरेको हो।

प्रहरीले कोठाभित्र मकल, हिटर बालेर नसुत्न अनुरोध गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंले  कोठा भित्र हिटर, मकल, फलामका चुलो, कराईहरूमा दाउरा/ कोइला बालेर नसुत्न अनुरोध गरेको हो। 

‘चिसो बढिरहेको हुँदा यसबाट जोगिन अपनाइने हिटर, कोइला बाली कोठा तातो बनाउने कार्यबाट कोठाको सम्पुर्ण अक्सिजन नष्ट हुन्छ,’ परिसरले भनेको छ, ‘त्यसपछि कार्बन मोनोअक्साइड समेत बनेर कोठाभित्र मानिसको सुरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, निस्सासिएर बेहोस हुने र पछि थाहै नपाई निधन समेत हुने गरेको छ।’

त्यसैले घरबाट बाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन नगर्न प्रहरीले अनुरोध गरेको छ। ढोका झ्यालमा बोरा, कपडा राखेर हिटरलगायत उपकरण नबाल्न, चुलो मकल, फलामका चुलो, कराइहरूमा दाउरा/कोइला बाली रातभर कोठाभित्र नराख्न अनुरोध गरिएको छ। 

त्यसैगरी झ्याल/ढोका बन्द गरी ग्यास गिजरको पनि प्रयोग नगर्न भनिएको छ।

विद्युतीय उपकरणहरूका स्विच, मल्टिप्लगहरूलाई काम सकिएपछि बन्द गर्न, ग्यासको सिलिन्डरलाई कोठाभन्दा बाहिर राख्न र काम सकिएपछि बन्द गर्न प्रहरीले अनुरोध गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here