नगरप्रमुख श्रेष्ठद्धारा महालक्ष्मी २ को वडा भवन उद्घाटन

फ्रन्टलाइन, काठमाडौँ । महालक्ष्मी नगरपालिका ललितपुरको वडा नम्बर २ को नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । हालै एक समारोहका बिच नगरप्रमुख रामेश्वर श्रेष्ठले वडा नम्बर २ को नवनिर्मित कार्यालय भवन उद्घाटन गर्नुभएको हो । उक्त भवन उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, वडा नं १, ४ र ८ का वडा अध्यक्षहरू, वडा नं २, ३ र ४ का वडा सदस्यहरु, देश विकास पुस्तकालयका पदाधिकारीहरू, स्थानीय बुद्धिजिवी, समाजसेवीसहित अन्य सरोकारवालाहरूका साथै नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
देश विकास पुस्तकालयको लागि जग्गा दान गर्नुहुने गजुरेल परिवारका सदस्य हरि विनोद गजुरेल र वहाँका परिवारप्रति नगर प्रमुख श्रेष्ठले हार्दिक आभार व्यक्त गर्नुभयो । वहाँले नगरपालिकाबाट हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, यातायातलगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे बताउनुभयो ।
वडा कार्यालय भवन उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुहुने वडा नं २ का वडा अध्यक्ष राम बहादुर के.सी.ले सो भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा २ नं वडाका वडा सदस्य कृष्णकुमार के.सीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव मनिषा पहाडीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्