एकैदिन ६ लाखले लगाए कोरोनाको खोप
२३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा झण्डै ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
यो सहित नेपालमा अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा खोपको प्रयोग भएको छ ।
जसमा १ करोड ७७ लाख ४० हजार ८ सय ३५ जनाले पहिलो मात्रा, १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र ६ लाख तीन हजार ४ सय ८ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
आरडीटी, पीसीआर र एन्टिजेन गरी ८ हजार ५ सय १३ जनामा परीक्षण गरिएकोमा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ सक्रमित थपिएका हुन् ।
त्यस्तै आज ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख नाघेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ९ लाख ६३९ जना निको भएका छन् ।
कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ ।
देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्