सर्लाहीमा हट्यो निषेधाज्ञा
१७ पुस, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा हटाइएको छ।
मंगलबार दिउँसो ३ बजेदेखि जारी गरेको निषेधाज्ञा आज बेलुकी ७ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए।
प्रहरी भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर नगरपालिका-७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३० वर्षीय व्यापारी रामकुमार महतोको मृत्युको घटना विरोधमा आन्दोलन उग्र रूप लिएपछि निषेधाज्ञा जारी गरिएको थियो।
प्रहरीले घटना लुकाउन खोजेको र शंकास्पद देखिएको भन्दै स्थानीयले टायर बालेर प्रहरी प्रशासनविरूद्ध नाराबाजी गर्दै आन्दोलन गरेका थिए।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने, जागिरका लागि पहल गर्ने र छानबिन समिति गठन गरी निष्पक्ष अनुसन्धान गर्ने र परिवारका एक जना सदस्यलाई स्थानीय तहमा जागिरका लागि पहल गर्ने निर्णय भएपछि आन्दोलन रोकिएको छ।
सहमतिपश्चात महतोको शव ५ दिनपछि परिवारले बुझेको छ। सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
घटनाको निष्पक्ष छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्र फुँयालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए।
समितिमा २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार, २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाई कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोद कुमार साह सदस्य छन्।
समितिलाई उक्त दुर्घटनाको सम्बन्धमा वास्तविक सत्य-तथ्य बुझेर अबिलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
प्रतिक्रिया दिनुहोस्