भारतमा कोभिड-१९ का थप दुई खोप, एन्टीभाइरल औषधिले पाए अनुमति
१४ पुस, भारत । भारत सरकारले कोभिड-१९ का थप दुई खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले ट्विटर गर्दै कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको बताएका हुन् ।
त्यस्तै, एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई समेत अनुमति दिएको उनको भनाइ थियो ।
हाल भारतले आफ्नो खोप अभियानमा कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खोप प्रयोग गरिरहेको छ ।
मंगलबार प्रयोगको अनुमति पाएको कोर्बेभ्याक्स ‘प्रोटिन सबयुनिट भ्याक्सिन’ हो ।
अमेरिकामा विकास गरिएको यो खोप हैदरावादस्थित बायोलोजिकल ई कम्पनीको भारतीय शाखामा उत्पादन गरिने भएको छ ।
त्यस्तै, अमेरिकामै विकास भएको कोभोभ्याक्स खोप नानो पार्टिकलमा आधारित खोप हो जसलाई पुनेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्ने भएको छ ।
यसै महिना अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिएको एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई सिधै सेवन गर्न सकिन्छ ।
पिल्सको रुपमा सेवन गर्न सकिने यो औषधि सामान्य एवं मध्यम लक्षण देखिने संक्रमितका लागि प्रभावकारी रहेको ठानिन्छ ।
यसलाई भारतका १३ वटा कम्पनीले उत्पादन गर्ने तयारी गरेका छन् । द हिन्दुबाट
प्रतिक्रिया दिनुहोस्