पीपीए गर्न तयार बंगलादेश
२९ मंसिर, काठमाडौं । नेपालमा वर्षायाममा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ। यसका लागि निजी क्षेत्रसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउनेछ।
नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा दैनिक पाँच सय मेगावाट विद्युत् खेर गएको थियो। यसबाट पाँच अर्ब रुपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत् खेर गइरहेको हो।
बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत् आउँदो वर्षबाटै खरिद गर्ने बताए। ‘नेपालमा उत्पादन भएको विद्युत् खपत नभएर खेर गइरहेको अवस्था छ,’ उनले भने, ‘त्यो विद्युत् हामी खरिद गर्न सक्छौं।’ उनले नेपालबाट विद्युत् आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए। राज्यमन्त्री नसरुलले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३५ सय मेगावाट समेत बिजुली खरिद गर्ने बताए।
उनले जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाए। ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु,’ उनले थपे। उनले बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग सिधै विद्युत् खरिद सम्झौता (पीपीए) गराउने गृहकार्य सुरु गर्ने पनि बताए। भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत् व्यापारको ढोका खुलेको छ। नेपालको बिजुलीको सम्भाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत् व्यापारमा आशावादी भएको छ। बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको चार वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ।
नेपालमा उत्पादन हुने विद्युत् बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ। उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले जलविद्युत्मा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे। उनले नेपालका निजी क्षेत्रसँग सिधै पीपीए गरेर विद्युत् खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे।
प्रतिक्रिया दिनुहोस्