गुल्मीका १२ सडक बालबालिकालाई प्रहरीले गर्यो विद्यालय भर्ना

फाइल तस्बिर

२९ मंसिर, गुल्मी ।  गुल्मीका १२ जना सडक बालबालिकालाई प्रहरीले विद्यालय भर्ना गरेको छ । गुल्मीको सदरमुकाम तमघास बजारमा माग्दै हिँड्ने बालबालिका प्रहरीको सहयोगमा विद्यालय भर्ना भएका हुन् ।

बिहान जुरुक्क उठेपछि बजारका पसलमा माग्ने र चोरी कार्यमा समेत संलग्न हुन थालेपछि ती बालबालिकाहरुलाई विद्यालय भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

frontline

प्रहरीका अनुसार ती बालबालिका केही अभिभावक नभएका अनाथ हुन् भने केही मजदुरका छोराछोरी विद्यालय पढ्न छोडेर सडकमा हिँड्ने बालबालिका रहेका छन् ।

प्रहरीले उनीहरुलाई विद्यालय पोशाक, जुत्ता, झोलालगायतका सामग्री प्रदान गरी विद्यालय पठाएको जनाएको छ । १२ जना बालबालिकामध्ये महेन्द्र नमुना मावीमा चार,समतामा चार,सिद्धवावा मावीमा तीन र उपल्लो तमघास मावीमा एकजना भर्ना गरिएको छ ।

तमघास बजारमा सडक बालबालिकाले समूहमा माग्दै हिँड्ने,पसलमा चोरी गर्ने र सार्वजनिक स्थलमा फोहोर गर्नेलगायतका काममा सक्रिय रहेका थिए ।

बालबालिका क्रियाकलापमा अभिभावकले चासो नदिँदा यस्तो समस्या आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईले बताए।

उनका अनुसार प्रहरीले अभिभावकलाई सचेत गराउँदै आएको छ । बालबालिका विद्यालयमा निरन्तर उपस्थितिका लागि अभिभावक र विद्यालयको सहयोग आवश्यक रहेको भट्टराईले उल्लेख गरे ।

जिल्लामा पछिल्लो समय विद्यालय छाडेर घर–घरमा माग्दै हिँड्ने सडक बालबालिकाको संख्या बढ्दो छ । बालबालिकाको व्यवस्थापन गर्न प्रहरीले पटक–पटक प्रयास गरिरहेको छ ।

तर, जिल्लामा बालबालिकाका लागि संरक्षण गर्ने कुनै संघ संस्था र निकाय सक्रिय नहुँदा दिगो समाधान भने हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here