कैलालीमा एमाले महाधिवेशन प्रतिनिधि चयनमा चर्को विवाद
१ मंसिर, कैलाली । कैलालीमा नेकपा (एमाले) महाधिवेशन प्रतिनिधि चयनमा चर्को विवाद देखिएको छ । एमाले कैलाली क्षेत्र नम्बर-२ मा महाधिवेशन प्रतिनिधि छनोटमा चर्को विवाद देखिएको हो ।
एमालेको १०औं महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर-२ बाट जिल्ला अध्यक्ष रतन थापाले निर्वाचन प्रक्रियाभन्दा बाहिर गएर एकलौटीरूपमा प्रतिनिधि छनौट गरेको भन्दै अर्को पक्षले निर्वाचनद्वारा प्रतिनिधि छान्ने तयारी गरेको छ ।
नेकपा एमाले उपाध्यक्ष भीम रावल पक्षले समानान्तर महाधिवेशन प्रतिनिधि छान्ने तयारी गरेको हो। जिल्ला अध्यक्ष रतन थापाले निर्वाचन प्रक्रियाभन्दा बाहिर गएर एकलौटीरूपमा प्रतिनिधि छनौट गरेको भन्दै अर्को पक्षले आज भेला बोलाएको छ ।
भेलाले सर्वसम्मतरूपमा वा निर्वाचनका माध्यमले प्रतिनिधि छनौट गर्ने पार्टीका प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्यासी महादेव बजगाईंले बताए ।
महाधिवेशनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा एकलौटीरूपमा प्रतिनिधि छनौट गरिनु प्रक्रिया विपरीतको काम भएको बताउँदै बजगाईंले आफूहरू चुनावमा भाग लिने जानकारी दिए ।
आफूहरूले निर्वाचन कमिटी, जिल्ला कमिटी, प्रदेश र केन्द्रलाई समेत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेकोले निर्वाचन प्रक्रिया अगाडि बढाइ दिन आग्रह गरेको बजगाईं बताउँछन् ।
‘मंसिर १०-१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं.२ बाट ६ पुरुष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं.२ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरी छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु’, बजगाईंले सामाजिक सञ्जालमार्फत सूचना राखेका छन् ।
निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि महाधिवशेन प्रतिनिधिका प्रत्यासी महादेव बजगाईं, सूर्यबहादुर थापा, रूपबहादुर रावल, मनोज थ्यात, लालबहादुर बोगटी, विरेन्द्र रावल, खरप्रसाद अधिकारी, दलबहादुर रावल, बसुन्धरा भण्डारी, गंगा थापा, यज्ञराज ढुंगाना र दलबहादुर थापाले विभिन्न तहमा निवेदन दिएका थिए ।
आज भेला गर्नेहरू एमालेको १० बुँदे पक्षधर हुन् । क्षेत्र नम्बर २ मा ६ खुला र तीन महिला प्रतिनिधि छानिने व्यवस्था छ । जिल्ला अध्यक्ष रतन थापाले आफूसहित डेजी पाण्डे, नरबहादुर खड्का, दलबहादुर विष्ट, गजेन्द्र स्वाँर, धर्म थापा, कमला ओली, टीका थापा र पदमपुरा थापालाई महाधिवेशन प्रतिनिधि छानिएको घोषणा गरेका छन् ।
महाधिवेशनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा जिल्ला अध्यक्षले एकलौटी रूपमा महाधिवेशन प्रतिनिधिको नाम घोषणा गरेको आरोप लागेको छ । अर्को पक्षले भने पाँचवटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको जनाएको छ ।
अन्य निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएकोमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा भने मतदानको प्रक्रियाद्वारा छनोट गरिएको उक्त पक्षले जनाएको छ ।
एमाले कैलाली पार्टी अध्यक्ष रतन थापाले भने सामाजिक सञ्जालमा बोलाएको भेलाको भ्रममा नपर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्