राससकर्मी पत्रकार केसीलाई आर्थिक सहायता
सिन्धुपाल्चोक, १९ असोज (रासस) : सिन्धुपाल्चोकमा रहेर लामो समयदेखि क्रियाशील रहनुभएका राससकर्मी पत्रकार राम केसीलाई ज्येष्ठ पत्रकार सहायता रकम हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले उहाँलाई सो रकम हस्तान्तरण गरेको हो । महासङ्घले ६० वर्ष नाघेकालाई यस्तो सहायता उपलब्ध गराउने नीतिअनुरुप केसीलाई सहयोग गरिएको हो ।
हरेक वर्ष ६० वर्ष नाघेका क्रियाशील पत्रकारलाई दिइने रकम यो वर्ष केसीलाई प्रदान गरिएको पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो ।
केसी अस्वस्थ हुनुभएकाले उहाँका धर्मपत्नी टीकालक्ष्मी केसीलाई चेक हस्तान्तरण गरिएको थियो । उहाँलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रु १२ हजारको चेक हस्तान्तरण गर्नुृभयो ।
“सामाजिक सुरक्षा भत्तास्वरुप पत्रकारलाई यस्तो सहायता प्रदान गरिन थालिएको हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यो हरेक वर्ष निरन्तर चल्नेछ ।” सिन्धुपाल्चोक शाखामा ६० वर्ष नाघेका केसी मात्रै भएकाले यो वर्ष यस्तो सहायता केसीलाई मात्रै प्रदान गरिएको हो ।
विसं २००३ मा जन्मेका केसी अझै पत्रकारितामा सक्रिय छन् । उहाँ २६ वर्षदेखि राष्ट्रिय समाचार समितिमा आबद्ध हुनुहुन्छ ।
केसीले यसअघि २०७४ सालमा पत्रकार महासङ्घ केन्द्रबाट प्रेस स्वतन्त्रता सम्मानलगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
पत्रकार महासङ्घ सिन्धुपाल्चोकले आयोजना गरेको विजयादशमी, शुभदीपावली, नेपाल सम्वत तथा छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । –––
प्रतिक्रिया दिनुहोस्