वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा
खोटाङ, १९ असोज (रासस) : वैदेशिक रोजगारीको सिलसिलामा हालसम्म खोटाङका ६० हजारभन्दा बढी नागरिक विभिन्न देशमा पुगेका छन् । मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना त्रासबीच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।
कोरोना महामारीकै बीचमा पनि खोटाङका १०४ महिलासमेत वैदेशिक रोजगारीका लागि विदेशिएको (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय बासिन्दाको घरका युवाशक्ति वैदेशिक रोजगारीमा रहेको पाइएको छ । यतिसम्मकि एउटा घरका बुवा, छोरीछोरी तथा बुहारी गरी पाँचजनासम्म वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।
पहाडी भू–भाग रहेको जिल्लामा जीवन निर्वाहमुखी खेतीभन्दा अन्य आम्दानीको स्रोत नभएपछि रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता रहेको युवापुस्ताले बताएका छन् ।
वैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्थासमेत सुदृढ हुँदै गएको सामी परियोजनाले जनाएको छ । कोरोना त्रासबीचमा जिल्लाबाट काठमाडौँ वा काठमाडौँबाट जिल्ला आवतजावत गर्ने अवस्था नहुँदा एजेण्टहरू गाउँगाउँ सक्रिय भएको पाइएको छ ।
महामारीमा सहज आवतजावत गर्ने अवस्था नहुँदा एजेण्टले आफँै काम गरिदिने भन्दै कागजात लिएर रकम असुल्ने गरेकोसमेत पाइएको संयोजक राईले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार सरोकार समाज खोटाङले वार्षिक कार्ययोजना तय गरेको छ । वैदेशिक रोजगारलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन समाजले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।
दशैँ र तिहारका बीचमा सितला मावि खाल्लेमा शिक्षक अभिभावक अभिमुखीकरण, खाल्लेमै ‘इस्यू’मा आधारित कार्यक्रम, मङ्सिर २ गते दिक्तेलमा शिक्षक, कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तक्र्रिया, पुस ३ गते दिक्तेलमा सडक साहित्य कार्यक्रमलगायत सचेतनामूलक अभियान सञ्चालन गरिने वैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताउनुभयो ।
सरोकार समाजले जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउनदेखि वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्