४ दशकपछि आफ्नै फिल्म हेर्न हल पुगे रजनीकान्त
मुम्बई । दिग्गज सुपरस्टार रजनीकान्त हालै आफ्नो नयाँ चलचित्र ‘जेलर २’ हेर्न चेन्नईको एक सिनेमा हल पुगेका छन् । रोचक कुरा के छ भने, विगत चार दशक (करिब ४० वर्ष)पछि उनी पहिलो पटक आफ्नै चलचित्र दर्शकहरूसँगै बसेर हेर्न हल पुगेका हुन् ।
सिनेमाघरमा सामान्य दर्शकझैँ बसेर फिल्म हेरिरहेको उनको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। रजनीकान्त गत शुक्रबार राति चेन्नईको वेलाचेरीस्थित ‘फिनिक्स मार्केटसिटी’ भित्र रहेको पीभीआर सिनेमाजमा गोप्य रूपमा पुगेका थिए । उनीसँगै उनका नाति लिङ्गा राजा तथा चर्चित संगीतकार अनिरुद्ध रविचन्दर सहभागी थिए । सुपरस्टारलाई अचानक आफ्नै माझ पाउँदा उपस्थित दर्शकहरू चकित भएका थिए
फिल्म निर्माण कम्पनी ‘सन पिक्चर्स’ले रजनीकान्त हल पुगेको भिडियो सार्वजनिक गरेको छ । भिडियो फुटेजमा अडिटोरियम प्रवेश गर्नुअघि एक सानो टिमले अनुभवी अभिनेताको स्वागत गरेको र त्यसपछि उनी सामान्य दर्शकहरूसँगै कुर्सीमा बसेर फिल्मको आनन्द लिइरहेको देख्न सकिन्छ ।
‘जेलर २’ सन् २०२३ मा प्रदर्शनमा आएर बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको रजनीकान्तकै फिल्म ‘जेलर’ को सिक्वेल हो । नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको यस फिल्ममा रजनीकान्तका साथै साउथ तथा बलिउडका थुप्रै चर्चित कलाकारहरूको अभिनय रहेको छ । यस फिल्ममा बलिउड अभिनेता ऋतिक रोशन विशेष भूमिका (केमियो) मा देखिएका छन् ।






प्रतिक्रिया दिनुहोस्