१५ प्रतिशत युवा राजनीतिमा रुचि राख्दै, पुरानालाई बढ्ला चुनौती ?

काठमाडौँ । नेपालको ‘जेन–जी’ पुस्तामा १५ प्रतिशतभन्दा बढीले आफूलाई राजनीतिमा रुचि रहेको बताएका छन् ।

रातोपाटीले केही अघि गरेको मत सर्वेक्षणमा जेन–जी पुस्ताका एक हजार १९ जनालाई प्रश्न सोधिएको थियो– राजनीतिप्रति तपाईंको रुचि कति छ ?

frontline

उनीहरूलाई जबाफ दिनका लागि तीन वटा विकल्प उपलब्ध गराइएको थियो– पहिलो विकल्पमा ‘धेरै रुचि छ’, दोस्रोमा ‘अलिअलि रुचि छ’ र तेस्रो विकल्पमा ‘पटक्कै रुचि छैन’ ।

सर्वेक्षणमा सातै प्रदेशलाई समेटिएको थियो । जसमा कोशी प्रदेशबाट १४७ जना, मधेस प्रदेशबाट १२५ जना, बागमती प्रदेशबाट १७४ जना, गण्डकी प्रदेशबाट १२७ जना, लुम्बिनी प्रदेशबाट १५० जना, कर्णाली प्रदेशबाट १५० जना र सुदूरपश्चिम प्रदेशबाट १४६ जना सर्वेक्षणमा सहभागी थिए ।

सर्वेक्षणमा सहभागीमध्ये १५.६ प्रतिशतले आफूलाई राजनीतिमा धेरै रुचि रहेको बताएका छन् । यो जबाफलाई जेन–जी पुस्ताको समग्र जनसङ्ख्याको १५.६ प्रतिशत मत मान्ने हो भने नेपालको राजनीतिक भविष्य सम्हाल्न युवा पुस्ता जागरुक हुँदैछ भन्ने बुझ्न सकिन्छ । किनकि, समग्र जनसङ्ख्याको १५/१६ प्रतिशत नै सक्रिय राजनीतिमा रहने जानकारहरू बताउँछन् ।

सर्वेक्षणमा सहभागी ४५ प्रतिशतले राजनीतिमा अलिअलि रुचि रहेको बताएका छन् भने ३९.४ प्रतिशतले पटक्कै रुचि नरहेको जबाफ दिएका छन् ।

https://flo.uri.sh/visualisation/24241491/embed

Made with Flourish

प्रदेशगत रूपमा कोशी प्रदेशबाट सर्वेक्षणमा सहभागीमध्ये १५.६ प्रतिशतले नै राजनीतिमा धेरै रुचि रहेको बताएका छन् । यहाँ ५०.३ प्रतिशतले राजनीतिमा अलिअलि रुचि रहेको र ३४ प्रतिशतले पटक्कै नरहेको बताएका छन् ।

यस्तै, मधेस प्रदेशबाट सहभागीमध्ये १६ प्रतिशतले राजीतिमा धेरै रुचि रहेको जबाफ दिएका छन् । यहाँ ५२.८ प्रतिशतले राजनीतिमा अलिअलि रुचि रहेको र ३१.२ प्रतिशतले पटक्कै रुचि नरहेको मत प्रकट गरेका छन् ।

बागमती प्रदेशबाट सहभागीमध्ये १६.१ प्रतिशतले राजनीतिमा धेरै रुचि रहेको बताएका छन् । यहाँ राजनीतिमा पटक्कै रुचि नरहेको बताउने ३९.७ प्रतिशत छन् भने अलिअलि रुचि रहेको बताउने ४४.३ प्रतिशत छन् ।

यसैगरी गण्डकी प्रदेशबाट सहभागीमध्ये १६.५ प्रतिशतले राजनीतिमा धेरै रुचि रहेको बताएका छन् । यहाँ ३७ प्रतिशतले राजनीतिमा पटक्कै रुचि नरहेको र ४६.५ प्रतिशतले अलिअलि रुचि रहेको बताएका छन् ।

लुम्बिनीबाट सर्वेक्षणमा सहभागीमध्ये १२.७ प्रतिशतले राजनीतिमा धेरै रुचि रहेको बताएका छन् । यहाँ राजनीतिमा पटक्कै रुचि नरहेको बताउने जेन–जी पुस्ता ३६.७ प्रतिशत छन् भने ५०.७ प्रतिशतले अलिअलि रुचि रहेको जबाफ दिएका छन् ।

कर्णाली प्रदेशबाट सहभागीमध्ये १६.७ प्रतिशतले राजनीतिमा धेरै रुचि रहेको बताएका छन् । यहाँ राजनीतिमा अलिअलि रुचि रहेको बताउने ४६.७ प्रतिशत छन् भने पटक्कै रुचि छैन भन्ने ३६.७ प्रतिशत छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशबाट सहभागीमध्ये १५.८ प्रतिशतले राजनीतिमा धेरै रुचि रहेको बताएका छन् । यहाँ राजनीतिमा पटक्कै रुचि छैन भन्ने ४८.६ प्रतिशत छन् भने अलिअलि रुचि छ भन्ने ३५.६ प्रतिशत छन् ।

  • यो तथ्याङ्कको सङ्केत के ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जेन–जी पुस्तामा गरिएको मत सर्वेक्षणमा १५ प्रतिशतको हाराहारीले राजनीतिमा धेरै रुचि रहेको बताउनु निकै सुखद् पक्ष रहेको बताउँछन् ।

कुनै पनि देशका सक्रिय राजनीति गर्ने जनसंख्या बढीमा १०–१२ प्रतिशत हुने जिकिर गर्दै उनले विल्कुलै नयाँ पुस्ता मानिएका ‘जेन–जी’बाट १५ प्रतिशतले राजनीतिमा धेरै रुचि छ भन्नु सामान्य विषय नभएको प्रस्ट पारे ।

‘यसले ठुला दलहरूका लागि निकै ठुलो चुनौती दिएको छ,’ श्रेष्ठले भने, ‘यही ट्रेन्डमा राजनीति जाने हो भने केही वर्षमा अब उनीहरूले हस्तक्षेप गर्छन् । कुनै राजनीतिक दलमा लागेर हुन्छ कि, नयाँ दल खोलेर हुन्छ कि, बालेन वा हर्क साम्पाङजस्तै स्वतन्त्र रूपमा चुनाव लडेर हुन्छ कि उनीहरू आउँछन् ।’

#रातोपाटी सर्वेक्षण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here