विदेशमा बस्ने र यात्रा गर्ने अमेरिकी नागरिकहरूलाई थप सतर्क रहन आग्रह
समाचार सारांश
- अमेरिकी विदेश मन्त्रालयले विदेशमा बस्ने वा यात्रा गर्ने अमेरिकी नागरिकहरूलाई थप सतर्क रहन आग्रह गरेको छ।
- इजरायल र इरानबीचको द्वन्द्वका कारण हवाई क्षेत्र बन्द भएको र विरोध प्रदर्शनको सम्भावना रहेको जनाइएको छ।
- अमेरिकाले इरानका आणविक स्थलहरूमा आक्रमण गरेपछि इरान र अन्य देशहरूले यसको विरोध गरेका छन्।
वासिङ्टन डिसी । अमेरिकी विदेश मन्त्रालयले आइतबार नयाँ सुरक्षा सतर्कता जारी गर्दै विदेशमा बस्ने वा यात्रा गर्ने अमेरिकी नागरिकहरूलाई थप सतर्क रहन आग्रह गरेको छ।
‘इजरायल र इरानबिचको जारी द्वन्द्वका कारण मध्य पूर्वमा यात्रा अवरोध भइरहेको छ र केही क्षेत्रहरूमा हवाई क्षेत्र बन्द गरिएको छ,’ नयाँ सुरक्षा सतर्कतामा भनिएको छ, ‘यसका साथै, विश्वका धेरै भागहरूमा अमेरिकी नागरिकहरू र उनीहरूको हित विरुद्ध विरोध प्रदर्शन हुने सम्भावना छ। यस कारणले गर्दा, अमेरिकी विदेश विभागले विश्वभरका सबै अमेरिकी नागरिकहरूलाई थप सावधानी अपनाउन सल्लाह दिइएको छ।’
आइतबार अमेरिकाले इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको थियो। अमेरिकाको यो आक्रमणपछि इरानका विदेशमन्त्री अब्बास अरघचीले अमेरिकाले संयुक्त राष्ट्र सङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप लगाएका थिए।
यसबाहेक मुस्लिम र अरब देशहरूले पनि इरानमाथिको यो अमेरिकी आक्रमणको आलोचना गरेका छन् र यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्।






प्रतिक्रिया दिनुहोस्