रवि र छविविरुद्ध चितवनमा पनि उजुरी

  • साहारा चितवन सहकारीको बचत गोर्खा मिडियामा लगेर हिनामिना गरेको आरोप

चितवन — सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ ।

frontline

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले ठगी र संगठित अपराधमा उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने मागसहित प्रहरीमा पूरक उजुरी दिएका हुन् ।

बचतकर्ताले साहारा सहकारीबाट नियमविपरीत १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको भन्दै लामिछाने र जोशीविरुद्ध उजुरी दिएका हुन् । चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन् । उनीहरू दुवै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध भने साहाराका बचतकर्ताले यसअघि नै उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बचतकर्ताको पूरक उजुरी आएको पुष्टि गर्दै त्यसमाथि थप अध्ययन गरेर अनुसन्धान अगाडि बढाउने बताए । यसअघि गत वर्ष असोज ९ मा साहाराका बचतकर्ताले रकम हिनामिनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । त्यसमाथि छानबिन गरेर १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । मुद्दा दायर गर्दा जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) को कार्यालयले साहारा चितवन सहकारीको रकम गएको देखिएको गोर्खा मिडियामाथि थप अनुन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो । यस विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि पूरक अभियोगपत्र अदालत लगिने प्रहरीले जनाएको छ ।

यसअघि अदालतमा दायर अभियोगपत्रमा ४ सय ४६ जना पीडित बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ भराउनुपर्ने देखिएको उल्लेख थियो । सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ बचत जम्मा भएको अनुसन्धानले देखाएको थियो । कुल बचतकर्ता ६ हजार ३ सय ३४ जना छन् । बचत रकम र हाल दाबी गरेको रकममा फरक देखिएको १४ करोड ६७ लाख ७६२ रुपैयाँ भने पछि बचतकर्ताहरूको उजुरी परेका बखत कानुनबमोजिम हुने अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here