एलएक्स सिटी मोरङले जित्यो तेस्रो बेलका गोल्डकपको उपाधि
उदयपुर, बेलका
मोरङको एलएक्स सिटी एफसीले चिल्ड्रेन हार्ट फुटबल एकेडेमी सुनसरीलाई टाइब्रेकरमा पराजित गर्दै तेस्रो संस्करणको ‘बेलका गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को उपाधि चुमेको छ। बेलका नगरपालिका–६ स्थित लेकाली रंगशालामा शनिबार सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।
टाइब्रेकरमा एलएक्स सिटीले संयमित प्रदर्शन गर्दै चिल्ड्रेन हार्टलाई ४–३ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। यससँगै विजेता एलएक्स सिटीले नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको चिल्ड्रेन हार्ट एफसी सुनसरीले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगिताको फाइनलसम्म पुग्न दुवै टोलीले कडा संघर्ष गरेका थिए। पहिलो सेमिफाइनलमा एलएक्स सिटीले इस्ट स्टार स्पोर्टिङ क्लब मोरङलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। त्यस्तै, दोस्रो सेमिफाइनलमा हानामी बीएफसी चितवनलाई टाइब्रेकरमै ४–३ गोल अन्तरले हराउँदै चिल्ड्रेन हार्टले उपाधि भिडन्त पक्का गरेको थियो।
ब्रदरहुड फुटबल क्लबको आयोजना र प्रतियोगिताको संरक्षक बेलका नगरकार्यपालिकाको मुख्य सहयोगमा स्थानीय खेलाडीहरूलाई व्यावसायिक खेलको अवसर प्रदान गर्ने उद्देश्यले बेलका गोल्डकपको प्रतियोगिता सञ्चालन हुँदै आएको छ। बेलका नगरपालिका वडा नं ६ स्थित लेकाली रंगशालामा आयोजित यस प्रतियोगिता तेश्रो संस्करणमा विभिन्न जिल्लाका उत्कृष्ट ८ वटा टिमहरूको सहभागिता रहेको थियो।
गत कार्तिक १४ गतेदेखि सुरु भएको यस प्रतियोगिताको भव्य उद्घाटन नगर प्रमुख अशोक कार्की लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा दीप प्रज्वलन र विभिन्न सांस्कृतिक झाँकी तथा तेक्वान्दो प्रदर्शनसहित गरिएको थियो। शनिबार फाइनल खेलको समापनसँगै तेस्रो बेलका गोल्डकप–२०८३ को भव्य समापन भएको छ






प्रतिक्रिया दिनुहोस्