यूसिजिएलको आठौं सम्मेलन सम्पन्न, कोभिड महामारी र स्थानीय सरकारको भूमिका लगायतका प्रस्ताव पारित
फ्रन्टलाइन, काठमाडौँ भदौ २४ । यूनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट (यूसिजिएल) को एसिया प्यासिफिकको आठौँ सम्मेलन सम्पन्न भएको छ। यूसिजिएलका अध्यक्ष अशोक कुमार ब्याञ्जुको अध्यक्षतामा ७ सेप्टेम्बरदेखि सुरु भएको सम्मेलन विभिन्न प्रस्तावहरु पारित गर्दै बिहिबार सम्पन्न भएको हो। सो सम्मेलनमा स्थानीय सरकारमा कोरोनाले पारेको प्रभाव र त्यसपछिको महामारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विभिन्न देशका स्थानीय सरकारका प्रमुखले प्रतिवेदन प्रस्तुत गरेका थिए।
सम्मेलनले आगामी विश्व सम्मेलन, आर्थिक तथा कारोनाको महामारीबाट छुटकरा पाउन स्थानीय सरकारको भूमिका लागायतका प्रस्तावहरु पारित गरेको छ। अध्यक्ष ब्याञ्जुले भने, ‘विशेष गरी स्थानीय सरकार र शहरहरुको दीर्घकालीन विकासका लागि कसरी अन्तर देशीय शहर र स्थानीय सरकारले सहयोग गर्न सक्छन भन्ने विषयमा छलफल भएको छ। हामी एसिया प्यासिफिकबाटमात्र ७ हजार बढी स्थानीय सरकार यसको सदस्य छौं।’ शहरभित्रलाई सुन्दर, शिक्षित र स्मार्ट बनाउँनका लागि आवश्यक पर्ने टेक्नोलोजी र अन्य स्रोत साधनको बारेमा पनि छलफल भएको अध्यक्ष ब्याञ्जुको भनाइ छ।
नेपालको सांस्कृति र शहरी विकासको अवधारणलाई विश्वभर चिनाउनका लागि आठौं सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ। उनले भने, ‘विश्वमा भएको शहरी विकासका अभ्यासहरुलाई नेपालमा कसरी ल्याउन सकिन्छ र नेपालको शहरी विकासको अभ्यास कस्तो छ भन्ने विषयमा अनुभवहरु साटाँसाट ग¥यौँ।’ नेपालको मात्र नभएर विश्वभरीका नगरपालिका र स्थानीय सरकारको आगामी चुनौतिहरु के के हुन्, यसका अवसरहरु के के हुन्, र एसियाली शहरहरुको भविष्य निर्धारणका लागि घोषणापत्र जारि गरिने ब्याञ्जुको भनाइ छ।
विश्वभरका २ लाख ४० हजार बढी शहरको साझा संस्था यूसिजिएलमा एसिया प्यासिफिकबाट ७ हजार बढी स्थानीय सरकारहरु यूसिजिएलको सदस्य रहेका छन्। नेपालका पनि १० वटा स्थानीय तह सदस्य रहेको उक्त संस्थामा भारत, पाकिस्तान, चीन, जापान, दक्षिण कोरिया, इण्डोनेसियालगायतका देशहरुका स्थानीय सरकार सदस्य रहेका छन्।






प्रतिक्रिया दिनुहोस्