किसानलाई धान थन्क्याउने चटारो
यतिबेला भोजपुरका अधिकांश क्षेत्रमा धान काट्ने र भित्र्याउने काम तीव्र रूपमा चलेको छ। पाकेको धान समयमै थन्क्याउन किसान व्यस्त छन्। मौसममा देखिएको अनिश्चितता, कृषि श्रमिकको अभाव र बढ्दो खेती लागतका कारण धान भित्र्याउने समयमा किसानलाई भ्याइनभ्याइ छ।
धानखेती हुने जिल्लाका विभिन्न स्थानमा किसानहरू धान काट्ने, सुकाउने, चुट्ने र भण्डारण गर्ने काममा जुटेका छन्। वर्षभरि गरेको मेहनतको प्रतिफल सुरक्षित गर्नुपर्ने भएकाले किसानलाई धान भित्र्याउने काममा ढिलाइ गर्ने अवस्था छैन। विशेषगरी वर्षा र हावाहुरीका कारण पाकेको धानमा क्षति पुग्न सक्ने जोखिमले किसानलाई समयमै बाली थन्क्याउन दबाब परेको छ।
भोजपुर नगरपालिका–५ बोखिमका किसान नवराज राईले मौसमको अनिश्चितताका कारण धान भित्र्याउन हतार गर्नु परेको बताए। ‘धान खेती गर्न वर्षभरि दुःख गर्नुपर्छ। अहिले धान पाकेर खेतमै छ। पानी प¥यो वा हावाहुरी आयो भने बालीमा क्षति पुग्न सक्छ। त्यसैले जसरी भए पनि समयमै धान भित्र्याउनुपर्ने अवस्था छ,’ उनले भने। उनका अनुसार पछिल्लो समय गाउँमा खेतीपातीका काम गर्ने जनशक्ति पाउन कठिन हुँदै गएको छ।
रोजगारीका लागि युवा सहर तथा विदेश जाने क्रम बढेपछि खेतीको जिम्मेवारी सीमित व्यक्तिमा परेको छ। कामदार खोज्नुपर्ने र महँगो ज्याला तिर्नुपर्ने बाध्यताले उत्पादन लागतसमेत बढ्दै गएको छ। कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांकअनुसार गत वर्ष जिल्लामा ११ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। उक्त क्षेत्रफलबाट ३६ हजार ९ सय ९८ टन धान उत्पादन भएको थियो। बेमौसमी वर्षाका कारण करिब ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रले जनाएको छ। यस वर्ष जिल्लाभर करिब ९६ प्रतिशत रोपाइँ भएको थियो।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार, धानका दाना पाकेर सुनौलो रङमा परिवर्तन भएपछि मौसम हेरेर किसानहरू धान थन्क्याउने काममा जुटेका छन्। काटेको धान पर्याप्त सुकाएर मात्र भण्डारण गर्नुपर्ने उनले बताए। उनले भने, ‘धान राम्रोसँग नसुकाई भण्डारण गर्दा ढुसी लाग्ने, कीरा लाग्ने र अन्नको गुणस्तर बिग्रिने जोखिम हुन्छ ।’
कृषि यान्त्रीकरणमा जोड
धान खेतीमा अझै पनि अधिकांश किसान परम्परागत औजार र श्रममा निर्भर छन्। पछिल्लो समय कृषि यान्त्रीकरणप्रति आकर्षण बढे पनि पहाडी भूगोल र साना गह्राका कारण आधुनिक उपकरणको प्रयोग सहज हुन सकेको छैन। कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवका अनुसार, भूगोल अनुकूल धान काट्ने मेसिन, थ्रेसरलगायत कृषि उपकरणको प्रयोग बढाउन सके श्रम, समय र उत्पादन लागत घटाउन सकिन्छ। किसानलाई उपकरण प्रयोगसम्बन्धी तालिम र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुकी किसान सीतामाया राईले धान उत्पादन गरे पनि खेतीको लागत बढ्दै गएको र उत्पादित अन्नको उचित मूल्य पाउन नसकेको बताइन्। उनका अनुसार खेतीमा श्रमिकको अभाव र महँगो ज्यालाले किसानलाई थप समस्यामा पारेको छ।
स्थानीय अगुवा गणेश कोयु राईले किसानलाई उत्पादनका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै बजार र उचित मूल्यको सुनिश्चितता गर्नुपर्ने बताए।
उनका अनुसार कृषि पेसालाई व्यावसायिक र आम्दानीमूलक बनाउन स्थानीय सरकार तथा सम्बन्धित निकायले उत्पादनदेखि बजारीकरणसम्मका कार्यक्रममा प्राथमिकता दिनुपर्छ।






प्रतिक्रिया दिनुहोस्