प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमण जाने क्रममा सरकारका दुई वरिष्ठ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ताले विमानस्थल सुरक्षा प्रोटोकल गम्भीर उल्लंघन गरेका छन् ।
प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थलको प्रवेश निषेधित क्षेत्रमा र्याम्प ज्याकेटविना पुगेर उनीहरूले सुरक्षा प्रोटोकल उल्लंघन गरेका हुन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा बिदाइमा पुगेका रास्वपा प्रवक्ता जगदीश खरेल, गृहमन्त्री सुदन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जहाज पार्किङ गरिएको एप्रोन क्षेत्रमा र्याम्प ज्याकेटविना उभिएको देखिएको छ, जुन एयरसाइड प्रोटोकल उल्लंघन भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । बिदाइमा पुगेका श्रेष्ठ त कार्यवाहक प्रधानमन्त्री समेत हुन् ।
जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र (र्याम्प एरिया) मा जहाजका यात्रु तथा क्रु मेम्बर बाहेक जुनसुकै व्यक्ति जाँदा र्याम्प ज्याकेट र विमानस्थलले जारी गरेको पास लगाउनै पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओको) अनुसूची १७ मा लेखिएको छ ।






प्रतिक्रिया दिनुहोस्