इरानलाई ‘सखाप’ पार्ने ट्रम्पको चेतावनी
संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।

इरानले अमेरिकासँग सम्झौता गरेर आफ्नो देशको पुनर्निर्माणमा लाग्नुपर्ने वा इस्लामिक गणतन्त्रको द्रुत गतिमा ‘पूर्ण विनाश’को सामना गर्न तयार हुनुपर्ने उनको भनाइ थियो । सैनिक कारबाहीलाई निरन्तरता दिने वा शान्ति सम्झौतातर्फ अघि बढ्ने भन्नेबारे आफू एउटा ठूलो निर्णयको संघारमा रहेको उल्लेख गर्दै उनले द्वन्द्व नटुङ्गिए इरानलाई पूर्ण रूपमा नष्ट गर्न सकिने चेतावनी दिए । यद्यपि, सम्बोधनकै क्रममा उनले इरानको परमाणु हतियार प्राप्त गर्ने प्रयास भने समाप्त भइसकेको दाबीसमेत गरे ।
सम्बोधनपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी अधिकारीहरूले महासभाको अवसरमा इरानी प्रतिनिधिमण्डलसँग तीन घण्टा लामो ‘अत्यन्तै फलदायी’ वार्ता गरेको खुलासा समेत गरे । महासभाको सम्बोधनलगत्तै राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड र डेनमार्कका नेताहरूसँग भेट गरी एक महत्त्वपूर्ण सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । लामो समयदेखिको प्रयासपछि सम्भव भएको यस सम्झौतामा संलग्न तीनै पक्षबिच ऐतिहासिक रूपमा राम्रो सम्बन्ध रहँदै आएको ट्रम्पले बताए ।
डेनमार्क साम्राज्यको स्वायत्त क्षेत्र ग्रिनल्यान्डको विदेश नीति मुख्यतया डेनमार्कले नै सम्हाल्दै आएको छ । यस सम्झौताका विस्तृत विवरण सार्वजनिक नगरिए तापनि ट्रम्पले अमेरिकाले ग्रिनल्यान्डमा दुईवटा ठूला सैन्य अड्डा स्थापना गर्ने जानकारी दिए ।
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले यो सम्झौताले विशेष गरी बाह्य खतराहरूबाट उत्पन्न अमेरिकी सुरक्षा चिन्तालाई सम्बोधन गर्नुका साथै डेनमार्क र ग्रिनल्यान्डको घरेलु अधिकारको समेत सम्मान गर्ने बताइन् । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले पनि यस सुरक्षा सम्झौताप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्