आजदेखी निषेधाज्ञामा थप कडाई हुने
फ्रन्टलाइन देशकाल । सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताउनुभयो ।ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि अब कडाइ गरिने उहाँको भनाइ छ ।
कोरोना संक्रमण बढ्दै गएपछि २१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी भएको छ ।
काठमाडौं उपत्यकामा विहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालना गराउन ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सवारी साधन जाँच गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले सवारी जाँचलाई आज थप कडाइ गरिने बताउनुभएको छ । सरकारले निषेधाज्ञालाई पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस्